लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमईज्) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ। नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (डिजिटल लेन्डिङ गाइडलाइन) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो पहलले एमएमईज् क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकार्यमा डाटा-आधारित मूल्यांकन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता तथा आइएमएस सफ्टवेयरको प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा रहेको प्रविधिगत क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो, सहज र पारदर्शी रूपमा कर्जा पहुँच उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।


