Banijya News

स्मार्ट टेलिकम प्रकरण : व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

1
1.0K Shares

सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई सोधपुछ गरेको छ। अनुसन्धानका क्रममा आवश्यक विवरण संकलन गर्न सीआईबीले बोलाएपछि महतो बिहीबार आफैँ लाजिम्पाटस्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका हुन्।

सीआईबीका अनुसार महतोलाई स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा जानकारी आवश्यक परेकाले कार्यालयमा बोलाइएको हो। ब्यूरोका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर राणाले अनुसन्धानको सिलसिलामा केही तथ्य बुझ्नुपर्ने भएकाले महतो स्वेच्छाले उपस्थित भएको जानकारी दिए।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार सोधपुछ मात्र नभई स्मार्ट टेलिकम प्रकरणसँग सम्बन्धित विषयमा महतोको औपचारिक बयानसमेत लिने तयारी गरिएको थियो। त्यसका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाइएको र उनी केही समयसम्म सीआईबी कार्यालयमै रहेको स्रोतको भनाइ छ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता भएको आशंकामा सीआईबीले लामो समयदेखि अनुसन्धान अघि बढाइरहेको छ। यही प्रकरणमा यसअघि गत वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए। त्यसयता अनुसन्धानको दायरा विस्तार गर्दै ब्यूरोले विभिन्न व्यक्ति तथा सरोकारवालासँग बयान र आवश्यक कागजात संकलन गरिरहेको छ।

स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक कारोबार, सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियाका विषयमा तथ्य संकलनलाई तीव्र बनाएको सीआईबीले जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

हाल महतोसँग गरिएको सोधपुछलाई पनि सोही अनुसन्धानको निरन्तरता मानिएको छ। अनुसन्धान जारी रहेकाले यसबारे विस्तृत विवरण सार्वजनिक नगरिएको सीआईबीले जनाएको छ।

1

Scroll to Top