नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीनवटा ब्रोकर कम्पनी र एउटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लंघन गरेको आरोपमा कारबाही गरेको हो । बोर्डले ती कम्पनीहरुलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ ।
बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ ग मा रहेको व्यवस्था उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको हो । कारबाहीमा पर्ने संस्थामध्ये सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गरिएको छ ।
बोर्डले यी संस्थामाथि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनी दायित्व पूरा नगरेको निष्कर्षका आधारमा ऐनको दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना गरेको जनाएको छ ।
यसैबीच, धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले कारबाही गरेको हो ।
बोर्डका अनुसार उक्त कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ को खण्ड (ख) बमोजिम व्यवसायिक स्तर पालना नगरेको ठहर भएको छ । त्यस आधारमा बोर्ड सञ्चालक समितिको निर्णयअनुसार नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सानिमा क्यापिटललाई पहिलो पटकका लागि सचेत गराइएको हो ।


