Banijya News

विराटनगरले ल्यायो ३ अर्ब ५६ करोड बढीको बजेट, कुन शीर्षकमा कति छुट्याइयो ?

1
1.0K Shares

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरको १८औँ नगरसभामा उपमेयर शिल्पा कार्कीले आगामी वर्षका लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आय–व्यय प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ ।

यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ ।

यसैगरी, आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैंक मौज्दातबाट १४ करोड र विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ हुने बताइएको छ ।

महानगरको मुख्य प्राथमिकतामा पूर्वाधार विकास परेको छ । यसका लागि १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, नगरस्तरीय योजनाका लागि ६० करोड र वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार छुट्याइएको छ ।

त्यस्तै, बहुवर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मर्मत–सम्भारमा १० करोड र फोहोरपानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ । यसमध्ये शिक्षातर्फ १० करोड ९ लाख २८ हजार र स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

1

Scroll to Top