चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा नेपाली उपभोक्ताहरूले मोबाइल फोनका लागि मात्रै पौने ६१ अर्ब (करिब ६० अर्ब ८३ करोड ६६ लाख) रुपैयाँ खर्च गरेका छन् । भन्सार विभागको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालमा २० लाख ४१ हजार वटा स्मार्टफोन आयात भएका छन्, जसको कुल भन्सार मूल्य ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ । यी मोबाइल नेपाल भित्रिँदा राज्यले ८ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार मूल्यमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तःशुल्क लगाउने गरेको छ ।
व्यवसायीले तिर्ने अतिरिक्त भ्याटसहित कुल १८.६५ प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्छ । भन्सार बिन्दुबाट उपभोक्ताको हातसम्म पुग्दा आयातकर्ता, थोक विक्रेता र खुद्रा व्यवसायीको ५.५ प्रतिशत मार्जिन तथा अन्य शुल्क गरी करिब ४० प्रतिशत (करिब १७ अर्ब रुपैयाँ) मूल्य थपिने गर्दछ । यही कारणले गर्दा ४३ अर्बको आयात मूल्य बजारमा पुग्दा ६१ अर्ब रुपैयाँ नजिक पुगेको हो ।
नेपाली बजारमा हाल १० हजार रुपैयाँका इन्ट्री-लेभल फोनदेखि साढे २ लाख रुपैयाँसम्मका प्रिमियम आइफोनहरू उपलब्ध छन् । यद्यपि, चालू आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपाली स्मार्टफोन प्रयोगकर्ताको औसत बजार मूल्य ३० हजार रुपैयाँ देखिएको छ । मोबाइल व्यवसायीहरूका अनुसार बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरू पनि २५ देखि ३५ हजार रुपैयाँकै दायराभित्र पर्दछन् । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १९ लाख ७५ हजार वटा सेट आयात हुँदा भन्सार मूल्य ३२ अर्ब ८ करोड रुपैयाँ थियो भने औसत मूल्य जम्मा २६ हजार रुपैयाँ मात्र थियो ।
गत वर्षको तुलनामा यस वर्ष मोबाइल आयात ३५ प्रतिशतले बढेको छ । संख्यात्मक हिसाबले ४ वर्षअघि आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ५५ लाख ८६ हजार सेट भित्रिएका थिए, तर त्यतिबेला सस्तो मूल्यका सामान्य फिचर (बारफोन) को सङ्ख्या बढी थियो । अहिले बारफोनको सट्टा स्मार्टफोनकै प्रयोग बढेकाले सङ्ख्या कम भए पनि कुल कारोबार रकम भने इतिहासकै उच्च विन्दुमा पुगेको हो ।
स्मार्टफोनको आयात यसरी तीव्र रूपमा बढ्दा देशको अर्थतन्त्रबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिइरहेको छ । वार्षिक ४३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात हुँदा मासिक रूपमा मात्रै करिब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा देशबाट बाहिरिने गरेको छ, जसले अर्थतन्त्रमा चुनौती थपेको छ । विगत एक दशकको तथ्याङ्कलाई केलाउँदा नेपालमा स्मार्टफोनको क्रेज अचम्मलाग्दो गरी बढेको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा वार्षिक मात्र १ अर्ब ८२ करोड ७८ लाख रुपैयाँको स्मार्टफोन आयात हुने गरेकोमा १० वर्षपछि अर्थात् चालू आवको जेठसम्म आइपुग्दा यो रकम बढेर ४३ अर्ब ४५ करोडभन्दा माथि पुगेको छ ।
इतिहासमै सबैभन्दा धेरै ६५ लाख ५४ हजार थान मोबाइल आर्थिक वर्ष २०७७/७८ मा आयात भएको थियो, जतिबेला ३४ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको थियो । अहिले सङ्ख्या निकै कम भए पनि मूल्य भने धेरै हुनुले नेपाली बजारमा सस्तो सेटभन्दा महँगो र प्रिमियम स्मार्टफोनको माग निकै बढेको स्पष्ट पार्छ ।
विशेष गरी कोभिड-१९ को समयपछि नेपालमा स्मार्टफोनको प्रयोग र आवश्यकता ह्वत्तै बढेको हो, जसको प्रभाव अहिले पनि कायमै छ । इन्टरनेटको पहुँचमा भएको विस्तार, अनलाइन शिक्षाको अभ्यास, डिजिटल बैंकिङको प्रयोग र सामाजिक सञ्जालको बढ्दो आकर्षणका कारण स्मार्टफोन अब विलासिताको साधन मात्र नरहेर मानिसको दैनिक जीवनको एउटा अत्यावश्यक अंग बनिसकेको छ । यसलाई डिजिटल नेपालको यात्रा र प्रविधिको विकासका लागि सकारात्मक सूचक मान्न सकिए पनि देशभित्रै उत्पादन नहुँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनु राष्ट्रिय अर्थतन्त्रका लागि चिन्ताको विषय हो ।
विज्ञ तथा सरोकारवालाहरूका अनुसार देशबाट भइरहेको यो ठूलो व्यापार घाटा र पूँजी पलायनलाई रोक्न सरकारले नेपालभित्रै मोबाइल एसेम्बलिङ प्लान्टहरू (मोबाइल जोड्ने उद्योग) स्थापना गर्न विशेष नीति र प्रोत्साहनमूलक प्याकेजहरू ल्याउनु आवश्यक भइसकेको छ ।


