काठमाडौँको माइतीघरमा शुक्रबार सुकुम्बासीहरूले आफ्नो उचित व्यवस्थापनमा सरकारले ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा भएको उक्त आन्दोलनमा सहभागीहरूले बिनाकुनै दीर्घकालीन विकल्प आफूहरूलाई होल्डिङ सेन्टरबाट समेत हट्न निर्देशन दिइएको भन्दै आक्रोश पोखेका छन्।
गत वैशाखमा उपत्यकाका नदीकिनारका बस्तीहरू भत्काइएपछि उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हालै एक सूचना जारी गर्दै आगामी असार १९ गतेसम्म होल्डिङ सेन्टर खाली गर्न समयसीमा थपेको छ। सेन्टर खाली गराउन सरकारले तत्कालका लागि घर भाडा उपलब्ध गराउने आश्वासन दिए पनि स्थानान्तरणमा परेका परिवारहरू भने यसबाट सन्तुष्ट छैनन्।
उनीहरूले यस कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै भत्काइएका घरटहराको क्षतिपूर्ति दिन र सुकुम्बासीको पहिचान गरी स्थायी पुनःस्थापना गर्न माग गर्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
वैकल्पिक र भरपर्दो व्यवस्थापन नगरी आफूहरूलाई सडकमा अलपत्र पार्न खोजिएको संघर्ष समितिको आरोप छ। प्रदर्शनकारीहरूले सरकारले यथाशीघ्र सुरक्षित र स्थायी आवासको ग्यारेन्टी नगरे बाध्य भएर पुनः पुरानै नदीकिनारका बस्तीहरूमा फर्किएर बस्ने चेतावनी समेत दिएका छन्।


