Banijya News

चर्चित व्यवसायी अजेय सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणको छानबिन सुरु

1
1.0K Shares

सम्पत्ति शुद्धीकरणको आशंकामा हेटौंडाका चर्चित व्यवसायी अजेयराज सुमार्गीमाथि अनुसन्धान तीव्र बनाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहपछि अध्यागमन विभागले उनको पासपोर्ट समेत रोक्का गरेको बुझिएको छ ।

विभागले सुमार्गीमाथि विदेशबाट नेपाल भित्रिएको ठूलो परिमाणको लगानीको स्रोत र कारोबारबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएका कम्पनीमार्फत नेपालमा रकम ल्याइएको विषय शंकास्पद देखिएपछि सुमार्गीमाथि छानबिन सुरु गरिएको हो ।

व्यवसायी सुमार्गीले २०६४ पछिका करिब एक दशकमा नेपालमा विभिन्न व्यवसायहरू विस्तार गरी तिनमा वैदेशिक लगानी भित्र्याउने योजना बनाएका थिए । ती योजनाअनुसार उनले करमा सहुलियत भएका र सेल कम्पनी स्थापनाका लागि उदार मानिने मुलुकहरूबाट लगानी भित्र्याउने योजना बनाएको विभिन्न कागजातहरूले देखाउँछन् ।

सुमार्गीको लगानी भएको स्याटेलाइट टेलिकमले २०१० को जनवरीमा साइप्रसस्थित एयरवेल सर्भिसेजबाट ८५ मिलियन अमेरिकी डलर ल्याउने भनेको थियो । त्यस्तै, मुक्तिश्री सिमेन्टका लागि पनि वैदेशिक लगानी भित्रियो । सुमार्गीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित विदेशी लगानीकर्ता कम्पनी जोधार इन्भेष्टमेन्टबाट ४५ मिलियन अमेरिकी डलर ल्याउने योजना बनाए । र, करिब ३५ मिलियन डलर नेपाल ल्याउन सफल भएका थिए ।

त्यसताका शंकास्पद कारोबारबारे रिपोर्टिङ भएपछि नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले गम्भीरताका साथ अनुसन्धान गर्र्नू भनी निर्देशन दिएका थिए । त्यस्तै, २०६६/६७ सालतिर पनि बारम्बार रकम भित्र्याउने प्रयास भएको थियो ।

सुमार्गीविरुद्ध परेका उजुरी र त्यसपछिका पत्राचारबाट प्रारम्भिक अनुसन्धान हुँदा अनेक कैफियतहरू भेटिन थाले । उनले आफ्ना विभिन्न कम्पनीहरूमा वैदेशिक लगानी भनेर रकम भित्र्याउन खोजेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यति बेला वैदेशिक लगानीको आवरणमा शंकास्पद र गैरकानूनी रकम नेपाल भित्र्याउन खोजेको हुनसक्ने आशंका गरेको थियो ।

यसअघि विभागले २०७४ सालमा गरेको प्रारम्भिक अध्ययनका क्रममा विदेशबाट भित्रिएको अर्बौं रुपैयाँको स्रोत स्पष्ट नभएको निष्कर्ष निकालेको थियो । राष्ट्र बैंकले शंकास्पद रकम रोक्ने प्रयास गरेपनि पटकपटकको अन्तरिम आदेशबाट रकम फुकुवा भएर सुमार्गी आवद्ध कम्पनीहरूले कारोबार गरेका थिए । यसअघि नेपाल राष्ट्र बैंकले नै विदेशबाट आएको करिब साढे ३ अर्ब रुपैयाँ शंकास्पद भन्दै रोक्का गरेको थियो । आवश्यक कागजात नपुगेका कारण केही रकम विभिन्न बैंकमा रोकिएको भए पनि पछि त्यसको निकासा भएको थियो ।

करिब एक दशक अघिदेखि नै सुमार्गीको शंकास्पद सम्पत्तिमाथि अनुसन्धान अघि बढेपनि राजनीतिक संरक्षणले भएको हस्तक्षेपका कारण अनुसन्धान अघि बढेन । अहिले सोही विषयलाई पुनः प्राथमिकतामा राखेर विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानका क्रममा सुमार्गीले विभिन्न विदेशी कम्पनीमार्फत करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएको देखिएको छ । तीमध्ये ठूलो रकम साइप्रसस्थित एयरवेल सर्भिसेज र ब्रिटिस भर्जिन आइल्यान्डस्थित जोधार इन्भेस्टमेन्टमार्फत आएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । उक्त रकम वैदेशिक लगानीको प्रक्रिया पूरा नगरी ल्याइएको हुन सक्ने आशंकामा विभागले अनुसन्धान गरिरहेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पनि सुमार्गीसँग सम्बन्धित कम्पनीहरूले शेयर कारोबारका क्रममा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर छली गरेको उल्लेख गरिएको छ ।

1

Scroll to Top