कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीहरूमा अत्यधिक विषादीको अवशेष फेला परेपछि तिनलाई नष्ट गर्न निर्देशन दिइएको छ । केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुरको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष विश्लेषण परीक्षणको नतिजा अनुसार बजारमा ल्याइएका केही कृषि उपजहरू मानव स्वास्थ्यका लागि हानिकारक र उपभोगका लागि अयोग्य पाइएका हुन् ।
प्रयोगशालाको प्रतिवेदन अनुसार धादिङको गजुरीबाट कृष्णबहादुर धितालले ल्याएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट रामेश्वरप्रसाद कानुले ल्याएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट भरतप्रसाद अर्यालले ल्याएको आलुमा ६६.९९ प्रतिशत अर्गानोफस्फेटको रोकावट दर (इन्हिबिसन प्रतिशत) देखिएको छ । मापदण्ड अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता कृषि उपजहरू तत्काल विसर्जन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले यी तीनवटै तरकारीहरू नष्ट गर्नुपर्ने सूचीमा परेका हुन् ।
यद्यपि, सोही दिन परीक्षण गरिएका अन्य ९ वटा नमुनाहरू भने उपभोगका लागि सुरक्षित पाइएका छन् । ललितपुरको गोदावरीको गोलभेँडा, मकवानपुरको बन्दागोभी, धादिङको तितेकरेला र भान्टा, रोल्पा र सिन्धुपाल्चोकका आलु, सल्यानको अर्को एउटा आलुको नमुना तथा भारतबाट आयात गरिएको प्याजमा विषादीको मात्रा तोकिएको सुरक्षित सीमाभित्रै देखिएको छ । प्रयोगशालाको नियम अनुसार ३५ प्रतिशतभन्दा कम रोकावट दर भएका कृषि उपजलाई सिधै उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म दर देखिएका तरकारीलाई केही दिन पर्खिएर मात्र प्रयोग गर्न सकिने व्यवस्था छ ।


