बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सहज भए पनि खाता बन्द गर्न भने खाता खोलिएको मूल शाखामै पुग्नुपर्ने व्यवस्थाले ग्राहकलाई सास्ती हुँदै आएको छ । बैंक खाता बन्द गर्नुपर्दा हुने यही असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन ल्याउने तयारी गरेको छ । नयाँ व्यवस्था लागू भएपछि ग्राहकले जुनसुकै शाखाबाट वा अनलाइनमार्फत समेत बैंक खाता बन्द गर्न सक्नेछन् ।
आफू रहेको स्थानमा खाता खोलिए पनि अध्ययन, रोजगारी वा बसाइँसराइका कारण अर्को जिल्ला वा सहरमा पुग्नुपर्ने बाध्यता हुन्छ । ती ग्राहकले सामान्य खाता बन्द गर्नकै लागि सयौं किलोमिटर यात्रा गर्नुपर्ने अवस्था रहेकाले बैंक खाता बन्द गर्न समस्या हुने गर्दछ । यही समस्या र गुनासोलाई सम्बोधन गर्न केन्द्रीय बैंकले नयाँ व्यवस्था गर्न लागेको हो ।
राष्ट्र बैंककी सहायक सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार, बैंक खाता बन्द गर्ने प्रक्रियालाई थप सहज बनाउन नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन ल्याउने तयारी गरेको हो । नयाँ व्यवस्था लागू भएपछि ग्राहकले जुनसुकै शाखाबाट वा अनलाइनमार्फत समेत बैंक खाता बन्द गर्न सकिने बताइएको छ ।
श्रेष्ठका अनुसार, हालसम्म बैंक खाता जहाँबाट खोलिएको हो त्यहीँ शाखाबाट मात्र बन्द गर्नुपर्ने वा अन्य शाखाबाट पनि बन्द गर्न सकिने भन्ने विषयमा राष्ट्र बैंक मौन छ । हाल लागू भइरहेको व्यवस्थाअनुसार खाता बन्द गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्था मात्र रहेको उनको भनाइ छ । शाखा सम्बन्धी विषयमा बैंकहरूले आफ्नै आन्तरिक नीतिअनुसार काम गरिरहेका छन् ।
त्यसैले, अहिलेका लागि सम्बन्धित बैंकले अपनाएको प्रक्रिया नै पालना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार, यस विषयमा ग्राहकबाट धेरै गुनासा तथा जिज्ञासा आएपछि राष्ट्र बैंकले जुनसुकै शाखाबाट तथा अनलाइनमार्फत पनि खाता बन्द गर्न सकिने व्यवस्था समेटिएको नयाँ निर्देशन तयार गरिरहेको छ । उक्त निर्देशनको मस्यौदा अन्तिम चरणमा पुगेको र आवश्यक स्वीकृतिको प्रक्रिया चलिरहेको बताइएको छ । नयाँ निर्देशन जारी भएपछि बैंक खाता बन्द गर्ने प्रक्रिया देशभरका बैंकमा एकरूप हुने र ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्था लागु भएपछि सबैभन्दा बढी लाभ विद्यार्थी, वैदेशिक रोजगारीमा जाने व्यक्ति, सरकारी कर्मचारी, निजी क्षेत्रका कर्मचारी तथा बसाइँसराइ गर्ने नागरिकले पाउने अपेक्षा गरिएको छ । यसबाट खातो खोलिएको बैंकको मूल शाखामै जानुपर्दा लाग्ने समय, खर्च र झन्झट कम गर्नुका साथै बैंकिङ सेवाप्रतिको ग्राहकको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार, नेपालमा लाखौं निष्क्रिय बैंक खाता रहेका छन् । तीमध्ये धेरै खाता ग्राहकले प्रयोग नगरे पनि बन्द गर्न नसकेका कारण खुलै रहेका छन् । कतिपय खातामा न्यून मौज्दात रहेकाले बैंकले सेवा शुल्क कटौती गरिरहने अवस्था हुन्छ भने कतिपय ग्राहकलाई आफ्नो पुरानो खाता अझै सक्रिय रहेको जानकारीसमेत हुँदैन । नयाँ व्यवस्थाले ग्राहकलाई सहज रूपमा खाता बन्द गर्न प्रेरित गर्ने भएकाले निष्क्रिय खाताको संख्या घट्ने अनुमान गरिएको छ ।


