Banijya News

चेम्बर र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवर्द्धनमा दुईवर्षे सहकार्य

1
1.0K Shares

नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुई वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो र बृहतप्रेन्योर्सका संस्थापक तथा बृहत ग्रुपका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप तथा नवउद्यम विकास, व्यावसायिक सञ्जाल विस्तार, मेन्टोरसिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्। नेपाल चेम्बर अफ कमर्सले देशका पाँच स्थानमा उद्यमी तथा व्यवसायीलाई लक्षित जनचेतना तथा पहुँच विस्तार कार्यक्रम सञ्चालन गर्नेछ। साथै नवौं नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोका अवसरमा विशेष उद्यमशीलता कार्यक्रम पनि आयोजना गरिनेछ।

त्यसैगरी, बृहतप्रेन्योर्सले सहभागी उद्यमीका लागि अभिमुखीकरण, व्यवसाय विकास तालिम, बिजनेस क्लिनिक, इन्क्युबेसन, मेन्टोरसिप, नेटवर्किङ तथा भेन्चर सपोर्ट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। संस्थाले सदस्यता, साझेदारी, को–वर्किङ सुविधा तथा व्यवसाय विस्तारका अवसरसमेत उपलब्ध गराउनेछ।

सम्झौताअनुसार आगामी दुई वर्षभित्र कम्तीमा छ वटा उद्यमशीलता तथा नेटवर्किङ कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी उद्यमी, स्टार्टअप र व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ। उक्त सहकार्यमा नेपाल चेम्बर अफ कमर्सको युवा समितिको समेत सहभागिता रहने जनाइएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यले उद्यमशीलता विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले उद्यमी, नवप्रवर्तक, स्टार्टअप र लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने बृहतप्रेन्योर्सको पहल समयानुकूल रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सहकार्यबाट रोजगारी सिर्जना, नवप्रवर्तन र आर्थिक गतिविधि थप सशक्त बन्ने बताए।

कार्यक्रममा बृहतप्रेन्योर्सका संस्थापक तथा बृहत ग्रुपका कार्यकारी अध्यक्ष डा. ओम राजभण्डारीले नेपालमा उद्यमशीलताको नयाँ संस्कृतिको विकासका लागि ‘आइडिया मात्र होइन, कार्यान्वयन’ मा जोड दिनुपर्ने बताए। उनले बृहतप्रेन्योर्सलाई उद्यमी, विशेषज्ञ, व्यवसाय र लगानीकर्तालाई जोड्ने भेन्चर–बिल्डिङ इकोसिस्टमका रूपमा विकास गरिएको उल्लेख गर्दै सहकार्य, संरचना, मार्गदर्शन र साझा स्रोतमार्फत दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणमा संस्थाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, युवा समिति सभापति दीपेशरत्न तुलाधरलगायतको उपस्थिति रहेको थियो।

1

Scroll to Top