Banijya News

किसान सूचीकरणमा २६ लाखभन्दा बढी किसान समेटिए, कसरी हुन्छ बर्गिकरण ?

1
1.1K Shares

सरकारले देशभर सञ्चालन गरिरहेको किसान सूचीकरण अभियानले निर्धारित लक्ष्यभन्दा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म २४ लाख ५० हजार किसान परिवारलाई सूचीकरण गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म २६ लाख ४५ हजार किसान परिवार सरकारी प्रणालीमा दर्ता भइसकेका छन्। यो संख्या नेपालका कुल किसान परिवारको करिब ६४ प्रतिशत बराबर रहेको केन्द्रले जनाएको छ।

सरकारको १०० दिने प्राथमिकतामा समावेश गरिएको यो अभियान पछिल्ला महिनामा तीव्र गतिमा अघि बढेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको दाबी छ। केन्द्रका अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा कृषि क्षेत्रमा संलग्न निकायहरूको सक्रियताले सूचीकरण अभियानले अपेक्षाभन्दा राम्रो नतिजा दिएको हो।

किसान सूचीकरण कार्यक्रम ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५’ को व्यवस्थाअनुसार सञ्चालन गरिएको हो। ऐनले किसानको पहिचान सुनिश्चित गर्दै उनीहरूको अधिकार संरक्षण र राज्यबाट उपलब्ध हुने सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। यही उद्देश्यलाई व्यवहारमा उतार्न सरकारले देशव्यापी रूपमा किसानको विवरण संकलन गर्दै आएको छ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख शवनम शिवाकोटीका अनुसार अब अभियानको अर्को चरणमा किसानको वर्गीकरण गरी ‘किसान परिचयपत्र’ वितरण गर्ने तयारी सुरु गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रलाई निर्देशन दिइसकेको उनले जानकारी दिइन्।

उनका अनुसार परिचयपत्र वितरणअघि हाल सञ्चालनमा रहेको सूचीकरण प्रणालीलाई थप व्यवस्थित र अद्यावधिक बनाइनेछ। साथै, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय बढाएर बाँकी रहेका किसानको सूचीकरण तथा तथ्यांक प्रमाणीकरणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइनेछ। केन्द्रले सबै स्थानीय तहलाई सूचीकरण प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न आग्रहसमेत गरेको छ।

सरकारको विश्वास छ कि किसान परिचयपत्र लागू भएपछि कृषकहरूले राज्यबाट औपचारिक पहिचान प्राप्त गर्नेछन्। यसले कृषि क्षेत्रमा उपलब्ध गराइने अनुदान, सहुलियत, प्राविधिक सेवा तथा अन्य सरकारी कार्यक्रम वास्तविक किसानसम्म लक्षित रूपमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, किसानसम्बन्धी एकीकृत तथ्यांक तयार भएपछि कृषि नीति निर्माण, उत्पादन योजना, विपद् व्यवस्थापन तथा कृषि बीमा, सहुलियत ऋण र राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहज हुने सरकारको निष्कर्ष छ। सरकारी निकायबीच सूचना आदानप्रदान र डिजिटल प्रणालीको अन्तरआबद्धता बढाएर सेवा प्रवाहलाई अझ पारदर्शी, छरितो र विश्वसनीय बनाउने लक्ष्य पनि राखिएको छ।

सरकारले किसान सूचीकरणलाई केवल तथ्यांक संकलनको अभियानका रूपमा नभई कृषि क्षेत्रको दीर्घकालीन सुधारको आधारका रूपमा अघि बढाएको जनाएको छ। सूचीकरण सम्पन्न भएसँगै आगामी चरणमा किसान परिचयपत्र वितरण र कृषि सेवाको डिजिटल एकीकरणलाई तीव्रता दिइने तयारी गरिएको छ। यसले कृषि प्रशासनलाई आधुनिक र व्यवस्थित बनाउनुका साथै वास्तविक किसानलाई राज्यका सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top