बागमती नदीमा पानीको बहाव बढेपछि काठमाडौं महानगरपालिका-१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर’ शनिबार मध्यराति बाढीले जलमग्न भएको छ। सुरक्षित आश्रयका रूपमा स्थापना गरिएको सरकारी होल्डिङ सेन्टरमै बाढी पसेपछि त्यहाँ बस्दै आएका सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन्।
प्रहरीका अनुसार शनिबार राति करिब १ बजेतिर बागमती नदीको सतह बढ्दै जाँदा बाढी होल्डिङ सेन्टरभित्र पसेको थियो। बाढी घुँडासम्म पुगेपछि त्यहाँ रहेका परिवारहरू त्रसित बनेका थिए। उनीहरूले प्रयोग गर्दै आएका लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोगका सामग्रीसमेत पानीले भिजाएको बताइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बाढी प्रवेश गरेलगत्तै उद्धार कार्य सुरु गरिएको जानकारी दिए। उनका अनुसार राति नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने अभियान सञ्चालन गरिएको थियो। “बाढी पसेपछि तत्काल उद्धार गरी जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छौँ,” उनले बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त भएपछि राति १ः३८ बजे उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। उद्धार अभियानका लागि सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापन टोलीसहित ३० जना र नेपाल प्रहरीका ३० जना गरी कुल ६० जनाको संयुक्त टोली खटिएको थियो।
प्राधिकरणका अनुसार होल्डिङ सेन्टरमा बसोबास गरिरहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ। बाँकीमध्ये ६ जना अन्यत्र रहेको होस्टलमा बसिरहेका थिए भने ९४ जनाले सेन्टरभित्र पानी नपुगेको सुरक्षित भागमै बस्ने निर्णय गर्दै अन्यत्र जान अस्वीकार गरेका छन्।
सरकारले यसअघि बागमती नदी किनारका जोखिमयुक्त सुकुम्बासी बस्ती हटाएर उनीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले राधास्वामी होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। तर सुरक्षित भनिएको यही स्थान नै बाढीको चपेटामा परेपछि सुकुम्बासीहरूको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले जोखिम मूल्याङ्कन र पूर्वतयारीमा पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्।
बाढीपछि प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय सक्रिय बनेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विषयगत क्लस्टर प्रणाली परिचालन गर्दै त्रिभुवन विश्वविद्यालयको स्मृति भवन तथा होल्डिङ सेन्टरमै रहेका प्रभावितहरूलाई खाना, पिउने पानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।
यस घटनाले वर्षायाममा नदी किनारका बस्ती मात्र होइन, वैकल्पिक आश्रयस्थलको सुरक्षा र विपद् व्यवस्थापनको प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठाएको छ। प्रभावित परिवारहरूको दीर्घकालीन पुनःस्थापना, सुरक्षित आवासको व्यवस्था तथा बाढी जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्न सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।


