Banijya News

सरकारी कार्यालय निर्माणका नयाँ मापदण्ड लागू, पार्किङदेखि अपांगतामैत्री पूर्वाधारसम्म अनिवार्य

1
1.1K Shares

सरकारले सरकारी कार्यालयहरूलाई थप व्यवस्थित, सेवाग्राहीमैत्री र आधुनिक बनाउने उद्देश्यले नयाँ भौतिक पूर्वाधार मापदण्ड लागू गरेको छ। अब निर्माण हुने सबै सरकारी कार्यालयमा सवारीसाधन पार्किङ, अपांगतामैत्री पहुँच, पर्याप्त प्रतीक्षालय, प्रविधिमैत्री संरचना तथा सुरक्षा व्यवस्थासहितका आधारभूत सुविधा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयले स्वीकृत गरेको ‘सरकारी कार्यालयहरूको भौतिक पूर्वाधार तथा स्तरीकृत विन्यास, २०८३’ अनुसार नयाँ सरकारी भवन निर्माण गर्दा कर्मचारी र सेवाग्राही दुवैका लागि सहज पहुँच र सुविधालाई प्राथमिकता दिनुपर्नेछ। विशेषगरी काठमाडौं उपत्यकासहित घना सहरी क्षेत्रमा सेवा लिन आउने नागरिकलाई हुने सवारी व्यवस्थापनको समस्या समाधान गर्न पार्किङलाई अनिवार्य पूर्वाधारका रूपमा समावेश गरिएको हो।

नयाँ मापदण्डअनुसार सरकारी कार्यालय निर्माणका लागि छनोट गरिने स्थानमा चारपांग्रे, दुईपांग्रे, मालवाहक सवारीसाधन तथा साइकलका लागि छुट्टाछुट्टै पार्किङको पर्याप्त व्यवस्था हुनुपर्नेछ। आवश्यकताअनुसार पार्किङ भवन परिसरभित्र, भवनको भूमिगत तल्ला वा उपयुक्त बाह्य क्षेत्रमा निर्माण गर्न सकिने व्यवस्था गरिएको छ। पार्किङ क्षेत्र सुरक्षित, व्यवस्थित र सहज रूपमा प्रयोग गर्न मिल्ने हुनुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ।

सरकारले कार्यालय भवन निर्माण गर्दा पालना गर्नुपर्ने १० वटा आधारभूत सिद्धान्त पनि निर्धारण गरेको छ। तीमध्ये कार्यालय सार्वजनिक यातायातबाट सजिलै पुग्न सकिने स्थानमा हुनुपर्ने, विपद्का बेला सुरक्षित रूपमा बाहिर निस्कन खुला क्षेत्र उपलब्ध हुनुपर्ने तथा सडक सञ्जालसँग उचित पहुँच कायम गरिएको स्थान रोज्नुपर्ने व्यवस्था गरिएको छ।

मापदण्डले भवनलाई अत्यधिक सवारी चाप र ध्वनि प्रदूषण हुने सडकको किनारमा निर्माण नगर्न सुझाव दिएको छ। यदि त्यस्तो स्थानमा भवन बनाउनैपर्ने अवस्था आए ध्वनि न्यूनीकरण गर्ने प्रविधि र संरचनात्मक उपाय अपनाउनुपर्ने उल्लेख गरिएको छ। यसले कार्यालयभित्र शान्त वातावरण कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारी कार्यालयलाई सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ। नयाँ भवनहरू ह्वीलचेयर प्रयोगकर्तामैत्री हुनुपर्नेछ भने दृष्टिविहीन व्यक्तिका लागि ब्रेल लिपिमा कार्यालय तथा कक्षहरूको नाम उल्लेख गर्ने व्यवस्था गर्नुपर्नेछ। यस्तो संकेत भुइँबाट उपयुक्त उचाइमा राख्नुपर्ने मापदण्डले स्पष्ट गरेको छ।

त्यसैगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा अस्थायी रूपमा शारीरिक समस्या भएका नागरिकलाई सहज सेवा प्राप्त हुने गरी भवनको डिजाइन तयार गर्नुपर्नेछ। कार्यालय परिसरभित्र प्रवेश, आवागमन तथा सेवा प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया समावेशी र नागरिकमैत्री हुनुपर्ने व्यवस्था गरिएको छ।सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पर्याप्त आकारको प्रतीक्षालय निर्माण गर्नुपर्नेछ। सेवाग्राहीको संख्या, उमेर समूह तथा शारीरिक अवस्थालाई ध्यानमा राखी बस्ने व्यवस्था, सूचना प्रणाली तथा आवश्यक सुविधासहितको प्रतीक्षा कक्ष तयार गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

भवनको आन्तरिक संरचना तयार गर्दा प्राकृतिक प्रकाश, पर्याप्त हावा आवतजावत र उपयुक्त ध्वनि व्यवस्थापनलाई ध्यान दिनुपर्नेछ। सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्ध रहने सेवा कक्षहरू अनिवार्य रूपमा भुइँतलामै राख्नुपर्ने व्यवस्था गरिएको छ, जसले नागरिकलाई माथिल्लो तलासम्म पुग्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ।

प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै भवन निर्माणअघि नै व्यवस्थित विद्युतीय तार जडान, सर्भर कक्ष, सिसिटिभी निगरानी प्रणाली, वाइफाइ सुविधा तथा विद्युत् आपूर्ति अवरुद्ध हुँदा प्रयोग गर्न सकिने ब्याकअप प्रणालीको योजना तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले सरकारी सेवा प्रवाहलाई थप छिटो, सुरक्षित र डिजिटल बनाउने अपेक्षा गरिएको छ।

स्वच्छता र सुरक्षालाई पनि नयाँ मापदण्डमा विशेष महत्व दिइएको छ। कर्मचारी तथा सेवाग्राहीको चापअनुसार पर्याप्त शौचालयको व्यवस्था गर्नुपर्नेछ भने प्रतिव्यक्ति दैनिक न्यूनतम ४५ लिटर पानी उपलब्ध हुने गरी खानेपानी प्रणालीको योजना बनाउनुपर्ने उल्लेख गरिएको छ। आगलागीको जोखिम न्यूनीकरण गर्न प्रत्येक तलामा निश्चित दूरीभित्र पोर्टेबल फायर एक्स्टिङ्गुइसर राख्नुपर्ने व्यवस्था पनि अनिवार्य गरिएको छ।

सरकारले नयाँ सरकारी कार्यालय निर्माण गर्दा सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनुपर्ने नीति पनि अघि सारेको छ। भवन निर्माणअघि जग्गा सम्याउने, पहुँच मार्ग बनाउने, कम्पाउन्ड वाल निर्माण गर्ने लगायतका पूर्वाधार विकासमा हुने खर्च भवन निर्माणको कुल लागतको २० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। सरकारको विश्वास छ कि यी नयाँ मापदण्ड लागू भएपछि सरकारी कार्यालयहरू थप व्यवस्थित, सुरक्षित, प्रविधिमैत्री र नागरिकको आवश्यकता अनुरूप सञ्चालन हुनेछन्।

1

Scroll to Top