Banijya News

वित्तीय अपराधमा वृद्धि, झापामा एक वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ

1
1.0K Shares

डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि वित्तीय अपराधका घटना भने बढ्दै गएको देखिन्छ । झापामा एक वर्षको अवधिमा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी तीन सयभन्दा बढी मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा यस्तो वित्रीय अपराधका तीन सय ७३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुई सय ७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने एक सय तीन वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् ।

उक्त घटनामा संलग्न एक सय ५५ जना पक्राउ परेका छन् भने तीन सय १० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले बताएका छन् । प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार, सबैभन्दा धेरै बैंकिङ कसुरका दुई सय ९४ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये दुई सय २० वटा फछ्र्योट भएका छन् भने ७४ वटा मुद्दा बाँकी छन् । यस्तै, ठगीका ६५ वटा मुद्दामध्ये ४० वटा फछ्र्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा रहेका छन् ।
त्यसैगरी, आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकामा आठ वटा फछ्र्योट भएका छन् भने चार वटा बाँकी छन् । सट्टेबाजी (वेटिङ) सम्बन्धी दुई वटा मुद्दा दर्ता भएकामा दुवै फछ्र्योट भइसकेका छन् ।

पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी, अनलाइन किनमेल, चिठ्ठा परेको र घरबाटै काम गरेर आम्दानी हुनेजस्ता प्रलोभन देखाएर हुने ठगीका घटना बढिरहेका छन् । अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिंक वा सन्देशमा विश्वास नगर्न र छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

1

Scroll to Top