नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक विकासलाई गति दिन सार्वजनिक तथा संवैधानिक निकायहरूले निजी क्षेत्रप्रति सहयोगी र सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माणका लागि नियामक निकायको भूमिका महत्त्वपूर्ण भए पनि त्यसले व्यवसायीको मनोबल कमजोर बनाउने खालका गतिविधिबाट टाढा रहनुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक वित्तीय अनुशासन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको भए पनि निजी क्षेत्रसँग सम्बन्धित विषयमा व्यवहारिक दृष्टिकोण अपनाउनु आवश्यक छ। आन्तरिक राजस्व विभागजस्ता सम्बन्धित निकायबाट सबै प्रक्रिया पूरा भई फर्छ्यौट भइसकेका विषयमा पुनः महालेखा परीक्षकको कार्यालयबाट प्रश्न उठाइँदा व्यवसायीमा अन्योल सिर्जना हुने र लगानीको वातावरण प्रभावित हुने उनले बताए।
अग्रवालले विगतमा लागू गरिएको भूतप्रभावी कर नीतिले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको उल्लेख गर्दै यस्ता अभ्यास अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य नरहेको बताए। भविष्यमा यस्ता नीतिलाई प्रोत्साहन नगरी व्यवसायमैत्री वातावरण निर्माण गर्न संवैधानिक निकायहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
देशको वर्तमान आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले नेपालमा नीतिगत व्यवस्था सामान्यतः राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए। नीति निर्माणभन्दा त्यसको प्रभावकारी कार्यान्वयन, स्पष्ट नियत र जिम्मेवार कर्मचारीतन्त्र नै आर्थिक सुधारको मुख्य आधार हुने उनको धारणा थियो। उनले अर्थतन्त्रमा विश्वास नै सबैभन्दा ठूलो पूँजी भएकाले पारदर्शी वित्तीय प्रतिवेदन, निष्पक्ष लेखापरीक्षण र उत्तरदायी प्रशासनबाट मात्र त्यो विश्वास कायम गर्न सकिने बताए।
नेपालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण र निर्यात विस्तारलाई प्राथमिकतामा राखेको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण प्रणाली र सुदृढ सुशासन अपरिहार्य रहेको उनले उल्लेख गरे। कर्मचारीतन्त्रले निजी क्षेत्रलाई साझेदारका रूपमा हेर्न नसकेसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको निष्कर्ष थियो।
कार्यक्रममा उनले लेखापरीक्षण क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगबारे पनि चर्चा गरे। उनका अनुसार अबको लेखापरीक्षण केवल विगतका वित्तीय विवरण परीक्षणमा सीमित नरही कृत्रिम बुद्धिमत्ता (एआई), डाटा एनालिटिक्स तथा आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत भविष्यका सम्भावित जोखिम पहिचान गर्ने रणनीतिक प्रणालीका रूपमा विकास हुनुपर्ने समय आएको छ। यसले सुशासन सुदृढ गर्नुका साथै लगानीकर्ताको विश्वास बढाउन र मुलुकको आर्थिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।


