Banijya News

मुख्य राजमार्ग अवरुद्ध हुँदा भान्सादेखि ग्यास र पेट्रोलको ट्यांकीसम्म दबाब

1
1.1K Shares

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मुख्य राजमार्गमा पुगेको क्षतिले काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा प्रत्यक्ष दबाब पर्न थालेको छ । सडक अवरोधका कारण खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, तरकारी तथा औद्योगिक सामग्रीको ढुवानी प्रभावित हुँदा बजारमा वस्तुको उपलब्धताभन्दा पहिले ढुवानी लागत र मूल्यमा असर देखिन थालेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसपछि त्रिशूली नदीमा बढेको बहाव तथा पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंको मुख्य आपूर्ति मार्ग प्रभावित भयो । तराई तथा भारतबाट काठमाडौं भित्रिने ठूलो हिस्सा खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल र औद्योगिक सामग्री यही मार्ग हुँदै आउने भएकाले सडक अवरोधको असर राजधानीको बजारसम्म पुगेको हो ।

कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि ठूला मालवाहक ट्रक तथा विशेषगरी एलपी ग्यास बोकेका बुलेटको आवागमन प्रभावित भयो । त्यसपछि सरकारले त्रिभुवन राजपथ र कान्ति लोकपथलाई वैकल्पिक आपूर्ति मार्गका रूपमा प्रयोग गर्न थालेको छ । वैकल्पिक मार्ग सञ्चालनमा आए पनि लामो दूरी, बढी समय र उच्च ढुवानी लागतका कारण त्यसको प्रभाव उपभोक्ता मूल्यमा देखिन थालेको व्यवसायीहरू बताउँछन् ।

यद्यपि, काठमाडौंमा तत्काल खाद्यान्न संकट भने देखिएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंमा चामल कम्तीमा एक महिनालाई पुग्ने मौज्दात छ । दाल तथा गेडागुडीको मौज्दात तीन महिनाभन्दा बढी रहेको छ भने खानेतेल करिब १५ दिनलाई पुग्ने अवस्थामा छ । खुद्रा व्यवसायीहरूले समग्र खाद्यान्न बजारमा सामान्यतया करिब तीन महिनाको माग धान्न सक्ने स्टक रहने बताएका छन् ।

पेट्रोलियम पदार्थतर्फ पेट्रोल करिब ११ दिन र डिजेल १३ दिनको माग धान्ने मौज्दात रहेको छ । मट्टीतेल करिब एक महिना र हवाई इन्धन १८ दिनलाई पुग्ने अवस्थामा छन्।

पेट्रोलियम आपूर्तिको स्रोतमा भने तत्काल ठूलो समस्या देखिएको छैन । मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट नियमित रूपमा पेट्रोलियम पदार्थ आइरहेको छ र देशको कुल पेट्रोलियम खपतको करिब ७० प्रतिशत आपूर्ति यही पाइपलाइनबाट भइरहेको छ । अमलेखगञ्जबाट काठमाडौं आउने साना ट्यांकरले अहिले त्रिभुवन राजपथ प्रयोग गरिरहेका छन् । त्यसैले, पेट्रोलियममा अहिलेको मुख्य जोखिम आपूर्तिको स्रोतभन्दा पनि ‘अन्तिम ढुवानी’मा देखिएको छ । त्रिभुवन राजपथ लामो समय अवरुद्ध भएमा भने मौज्दात र आपूर्तिको वर्तमान समीकरण बदलिन सक्छ ।

ग्यासमा सबैभन्दा ठूलो दबाब

काठमाडौंको आपूर्ति प्रणालीमा सबैभन्दा कमजोर कडी भने एलपी ग्यास बनेको छ । नेपाल आयल निगमसँग काठमाडौंमै ठूलो रणनीतिक एलपी ग्यास भण्डारण गृह वा बोटलिङ प्लान्ट छैन । उपत्यकाको आपूर्ति निजी क्षेत्रका करिब १८–२० उद्योगमा निर्भर छ ।

गत भदौमा नेपालले करिब ६० हजार मेट्रिक टन, अर्थात् करिब ४२ लाख सिलिन्डर बराबर ग्यास आयात गरेको थियो । देशभर सामान्य अवस्थामा मासिक करिब ३२ लाख सिलिन्डर खपत हुने भए पनि काठमाडौंको समस्या ग्यास आयातको परिमाणमा भन्दा उपत्यकासम्म पुर्‍याउने संरचनामा देखिएको छ ।

कृष्णभीर हुँदै आउने ग्यास बुलेट रोकिँदा केही दिनअघि उपत्यकाका उद्योगमा मौज्दात लगभग सकिएको व्यवसायीहरूले बताएका थिए । त्यसबेला दैनिक ८–१० हजार सिलिन्डर मात्रै बजारमा पुगिरहेको र उपत्यकाको दैनिक माग करिब ४० हजार सिलिन्डर रहेको उनीहरूको भनाइ थियो ।

पछिल्ला दिनमा भने आपूर्ति केही सुधारिएको छ । भदौ १८ मा २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ गरी तीन दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं भित्रिएको छ । दैनिक औसत करिब २९ हजार ३०० सिलिन्डर भए पनि ४० हजारको सामान्य मागलाई आधार मान्दा आपूर्ति अझै करिब २७ प्रतिशत कम छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर आवश्यक पर्छ । असहज परिस्थितिमा भने माग बढेर दैनिक एक लाख सिलिन्डरसम्म पुग्न सक्ने उनको भनाइ छ ।

आपूर्ति बढे पनि मूल्यमा दबाब

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कालीमाटी बजारमा आउने तरकारीको परिमाण एकै दिन करिब ७ लाख ९५ हजार किलोबाट घटेर १ लाख ५१ हजार किलोसम्म पुगेको थियो । अहिले भने आपूर्ति धेरै सुधारिएको छ । दैनिक करिब ७०० टन तरकारी काठमाडौं भित्रिरहेको छ । यसले बजार पूर्णरूपमा ठप्प हुनबाट जोगिए पनि वैकल्पिक मार्गका कारण बढेको ढुवानी खर्चले उपभोक्ता मूल्यमा दबाब सिर्जना गरेको छ ।

उता, चिनीको बजारमा पनि मूल्य बढेको गुनासो छ । स्वदेशी उद्योगमा करिब २५ हजार टन चिनी मौज्दात रहेको विभागको विवरण छ । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यसमध्ये १५ हजार टन खरिद गर्ने तयारी गरेका छन् । थप २५ हजार टन चिनी एक प्रतिशत भन्सारमा आयात गर्न अनुमति दिइएको छ । तर बाढीअघि प्रतिकिलो १००–१२० रुपैयाँमा पाइने चिनी कतिपय पसलमा १४० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ ।

त्यस्तै, चामलको बोरामा २००–३०० रुपैयाँसम्म वृद्धि भएको र सनफ्लावर तेल प्रतिलिटर ३०० रुपैयाँ वा त्यसभन्दा माथि पुगेको बताइएको छ । वाणिज्य विभागले भदौ १४ देखि १८ गतेसम्म काठमाडौं उपत्यकाका १०८ स्थानमा बजार अनुगमन गरेको थियो भने अहिले दैनिक १५ टोली परिचालन गरिएको छ ।

विपद्का कारण ढुवानी खर्च बढ्नु र वैकल्पिक बाटो प्रयोग गर्दा समय तथा लागत बढ्नु स्वाभाविक भए पनि पुरानै मौज्दातमा अस्वाभाविक मूल्यवृद्धि गरिएको हो भने त्यसलाई विपद्को असर भनेर मात्र छाड्न नहुने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।

अहिले काठमाडौंमा तत्कालै खाद्यान्न अभावको अवस्था नभए पनि आपूर्ति मार्ग लामो समय प्रभावित भएमा मौज्दात घट्दै जानेछ । विशेषगरी रणनीतिक भण्डारण कमजोर रहेको एलपी ग्यासमा जोखिम सबैभन्दा छिटो देखिन सक्ने भएकाले वैकल्पिक मार्गसँगै दीर्घकालीन भण्डारण र आपूर्ति व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

1

Scroll to Top