-लोकेन्द्र श्रेष्ठ “ईश्वर “
मानिसको मृत्यु भएपछि सामाजिक सञ्जालका भित्ताहरू अचानक श्रद्धाञ्जलीका शब्दहरूले भरिन्छन्। “हार्दिक श्रद्धाञ्जली”, “चिरशान्तिको कामना”, “बैकुण्ठ बास होस्”, “शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्” जस्ता अभिव्यक्तिहरू निरन्तर देखिन्छन्। आफन्त, साथीभाइ र चिनजानका मानिसहरू दिवंगत व्यक्तिका गुणहरूको स्मरण गर्छन्, परिवारप्रति समवेदना व्यक्त गर्छन् र आफ्ना भावनाहरू सार्वजनिक गर्छन्।
शोकको क्षणमा व्यक्त गरिने यी संवेदनाहरू मानवीय संस्कारकै अभिन्न पक्ष हुन्। तर यिनै शब्दहरूबीच कहिलेकाहीँ एउटा गम्भीर प्रश्न उठ्छ-हामीले मृत्यु भएपछि व्यक्त गर्ने यति धेरै माया, सम्मान र प्रशंसा मानिस जीवित छँदै किन व्यक्त गर्न सक्दैनौँ?
मृत्यु जीवनको अन्तिम सत्य हो। तर मानिसको जीवनमा सबैभन्दा मूल्यवान् कुरा मृत्युको क्षणमा प्राप्त हुने प्रशंसा होइन, जीवित छँदा अनुभूत गरेको आत्मीयता हो। मृत्यु भएपछि सुनाइएका राम्रा शब्दले सम्झना त जोगाउन सक्छन्, तर ती शब्द स्वयंले बितेको जीवनलाई स्पर्श गर्न सक्दैनन्।
कसैको निधन भएपछि हामी सम्झन्छौँ-उहाँ असल हुनुहुन्थ्यो, सहयोगी हुनुहुन्थ्यो, इमानदार हुनुहुन्थ्यो, कर्तव्यनिष्ठ हुनुहुन्थ्यो, सरल र मिलनसार हुनुहुन्थ्यो। उहाँले गरेका काम र दिएका साथका प्रसङ्गहरू पनि सम्झन्छौँ। तर प्रश्न यति हो-उहाँ जीवित छँदा हामीले यी कुरा उहाँलाई भनेका थियौँ कि थिएनौँ?
कहिल्यै फोन गरेर “तपाईंले गर्नुभएको कामको म सम्मान गर्छु” भनेका थियौँ? कहिल्यै उहाँको योगदानलाई खुलेर स्वीकार गरेका थियौँ? उहाँलाई साथ चाहिएको बेला छेउमा उभिएका थियौँ? अथवा यी सबै कुरा भन्न हामीले मृत्युको प्रतीक्षा गर्यौँ?
मानिसलाई सम्मान गर्न मृत्युको आवश्यकता नपरोस्।
मृत्यु भएपछि चढाइने फूलभन्दा जीवित छँदै दिइएको एउटा फूल बढी अर्थपूर्ण हुन्छ। अन्तिम यात्रामा लेखिएको लामो श्रद्धाञ्जलीभन्दा जीवनको कुनै कठिन मोडमा दिइएको एउटा आत्मीय साथ धेरै गहिरो हुन सक्छ। सामाजिक सञ्जालमा लेखिएका सयौँ शब्दभन्दा समय निकालेर सुनिदिएको केही मिनेटको मनको कुरा कसैका लागि अमूल्य हुन सक्छ।
हाम्रो सामाजिक व्यवहारमा एउटा विरोधाभास देखिन्छ। मानिस जीवित छँदा उसका कमजोरीमाथि दृष्टि केन्द्रित हुन्छ; उसको योगदानलाई स्वाभाविक ठानिन्छ। प्रशंसा गर्न हामी कञ्जुस हुन्छौँ, तर मृत्यु भएपछि उसका गुणहरू खोज्न थाल्छौँ। आलोचनाका लागि समय निकाल्छौँ, तर कृतज्ञता व्यक्त गर्न समय हुँदैन। उपस्थितिको मूल्य त्यतिबेला मात्र बुझिन्छ, जब त्यो उपस्थिति सदाका लागि हराइसकेको हुन्छ।
सायद यही मानवीय स्वभावको एउटा विडम्बना हो-हामीसँग भएको कुराको मूल्य त्यसलाई गुमाएपछि मात्र गहिरोसँग बुझ्छौँ।
तर जीवनको सौन्दर्य यही विडम्बनालाई बदल्न सक्नुमा छ।
कसैप्रति सम्मान छ भने उसकै अगाडि व्यक्त गरौँ। कसैको काम मन परेको छ भने खुलेर प्रशंसा गरौँ। कसैप्रति कृतज्ञ छौँ भने धन्यवाद दिन ढिला नगरौँ। कसैसँग मनमुटाव छ भने सम्भव भएसम्म संवाद गरौँ। कसैलाई हाम्रो साथ आवश्यक छ भने “पछि” नभनी आजै उसको छेउमा पुगौँ।
किनकि जीवनमा सबैभन्दा पीडादायी कुरा कहिलेकाहीँ मृत्यु मात्र हुँदैन; भन्न बाँकी रहेका शब्दहरू पनि हुन्छन्।
हामी प्रायः भन्छौँ-समय छैन। भेटौँला, कुरा गरौँला, फोन गरौँला, पछि भेटेर सबै कुरा भनौँला। तर जीवनले त्यो “पछि” सधैँ सुरक्षित राखिदिँदैन। एउटा फोन नआउन सक्छ, एउटा भेट अधुरै रहन सक्छ, एउटा संवाद कहिल्यै हुन नसक्ने गरी समय समाप्त हुन सक्छ।
त्यसैले माया र सम्मानलाई औपचारिक अवसरको विषय नबनाऔँ। सम्बन्धलाई केवल चाडपर्व, जन्मदिन, सफलता वा मृत्युका क्षणमा सम्झिने संस्कारबाट माथि उठाऔँ। दैनिक व्यवहारमै आत्मीयता देखाउन सकौँ।
वृद्ध आमाबुबा साथमा छँदै उनीहरूप्रति आफ्नो माया, कृतज्ञता र सम्मान व्यक्त गरौँ।लामो समयदेखि सम्पर्क नभएको साथीलाई सम्झेर फोन गर्नु, सहकर्मीको राम्रो कामको प्रशंसा गर्नु, परिवारका सदस्यको कुरा ध्यान दिएर सुन्नु, समाजका लागि योगदान गरिरहेका व्यक्तिलाई समयमै धन्यवाद दिनु-यी सामान्य देखिने व्यवहार नै वास्तवमा सभ्य समाजका गहना हुन्।
मानिसलाई जीवनभर सम्मान नदिएर मृत्युको दिन ठूलो सम्मान दिन खोज्नु हाम्रो संवेदनाको एउटा अधुरो रूप मात्र हुन सक्छ। श्रद्धाञ्जली आवश्यक छ, शोकमा समवेदना आवश्यक छ; तर जीवित मानिसप्रतिको सम्मान, माया र कृतज्ञता अझ ठूलो मानवीय दायित्व हो।
आज हाम्रो वरिपरि धेरै मानिस छन्, जसलाई कुनै ठूलो उपहार होइन-एउटा मीठो शब्द चाहिएको छ। कसैलाई आफ्नो मेहनत कसैले देखिरहेको छ भन्ने अनुभूति आवश्यक छ। कसैलाई आफू महत्वपूर्ण छु भन्ने विश्वास चाहिएको छ। कसैलाई केवल आफ्नो कुरा सुनिदिने एउटा आत्मीय मानिस चाहिएको छ।
सायद हामीले दिने सबैभन्दा ठूलो उपहार यही हो-कसैलाई उसको अस्तित्वको मूल्य अनुभूति गराउनु।
मृत्यु अपरिहार्य छ, तर पछुतो अपरिहार्य हुनु आवश्यक छैन। हामीले कसैलाई माया गर्छौँ भने त्यसलाई व्यक्त गर्न सकिन्छ। सम्मान गर्छौँ भने सुनाउन सकिन्छ। कृतज्ञ छौँ भने धन्यवाद दिन सकिन्छ। मनमा राम्रो कुरा छ भने त्यसलाई मनभित्रै थुनेर राखिरहन आवश्यक छैन।
अन्ततः मानिसले आफ्नो मृत्युको दिन कति ठूलो श्रद्धाञ्जली पायो भन्नेभन्दा, जीवित छँदा उसले कति माया पायो, कति सम्मानित भयो र आफ्नो जीवन कसैका लागि अर्थपूर्ण छ भन्ने कति अनुभूति गर्न पायो—त्यो बढी महत्वपूर्ण हुन्छ।
त्यसैले कसैलाई माया गर्नु छ भने आजै गरौँ।
सम्मान गर्नु छ भने आजै गरौँ।
धन्यवाद भन्नु छ भने आजै भनौँ।
भेट्न मन छ भने आजै भेटौँ।
मनमा राम्रो कुरा छ भने आजै व्यक्त गरौँ।
किनकि श्रद्धाञ्जलीका शब्द मृत्यु भएपछि पुग्छन्; तर माया, सम्मान र आत्मीयता जीवित छँदै पुग्यो भने त्यसले एउटा जीवनलाई अझ सुन्दर बनाउन सक्छ।
जीवनको साँचो श्रद्धाञ्जली सायद मृत्युको दिन लेखिने शब्द होइन-जीवित छँदै एकअर्काको जीवनमा दिइएको सम्मान, माया र मानवीय स्पर्श हो।

