Banijya News

म्युचुअल फन्डमा बढ्दो आकर्षण, सेबोनमा ७ अर्ब ६० करोडको पाइपलाइन

1
1.0K Shares

बैंक तथा वित्तीय संस्थाहरूले म्युचुअल फन्डका नयाँ योजना धमाधम सञ्चालनमा ल्याउन थालेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा मात्रै अहिले ७ अर्ब ६० करोड रुपैयाँ बराबरका म्युचुअल फन्डका इकाई निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।

सेबोनका अनुसार पाइपलाइनमा रहेका ८ वटा म्युचुअल फन्डले कुल ७६ करोड इकाई निष्कासनका लागि अनुमति मागेका छन् । तीमध्ये ५ वटा बन्दमुखी र ३ वटा खुलामुखी योजना रहेका छन् ।

चालु आर्थिक वर्षको साढे २ महिनाको अवधिमा मात्रै ३ वटा म्युचुअल फन्डले सेबोनबाट निष्कासन अनुमति पाइसकेका छन् । ती फन्डमार्फत २ अर्ब ८० करोड रुपैयाँ बराबरका इकाई निष्कासनको बाटो खुलेको छ । पछिल्लो समय म्युचुअल फन्डप्रति लगानीकर्ताको आकर्षण बढेसँगै नयाँ योजनाहरू आउने क्रम पनि बढेको देखिन्छ ।

सेबोनमा सबैभन्दा ठूलो आकारको म्युचुअल फन्ड निष्कासनका लागि सिद्धार्थ स्ट्राटेजिक फन्डले आवेदन दिएको छ । उक्त फन्डले १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड इकाई निष्कासनका लागि अनुमति मागेको हो ।

त्यस्तै, अन्य ६ वटा म्युचुअल फन्डले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । पाइपलाइनमा रहेको सबैभन्दा सानो आकारको योजना भने एनएमबि फ्लेक्सी क्याप रहेको छ । यसले ४० करोड रुपैयाँ बराबरका ४ करोड इकाई निष्कासनका लागि अनुमति मागेको छ । यो खुलामुखी म्युचुअल फन्ड हो ।

गत आर्थिक वर्षमा मात्रै सेबोनले ३३ वटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको थियो। तीमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । हाल नेपालमा बन्दमुखी र खुलामुखी गरी ६० वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् ।

बन्दमुखी म्युचुअल फन्डका इकाई दोस्रो बजारमा कारोबार गर्न सकिन्छ भने खुलामुखी योजनाका इकाई दोस्रो बजारमा कारोबार हुँदैनन् ।

1

Scroll to Top