Banijya News

लोकतान्त्रिक संस्कृतिको क्षय रोक्न कांग्रेसले नेतृत्व गर्नुपर्छ : उपसभापति शर्मा

1
1.0K Shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा कमजोर हुँदै गएको लोकतान्त्रिक संस्कृतिलाई सुधार गर्दै नयाँ राजनीतिक संस्कार विकास गर्ने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताएका छन्। काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

बन्दसत्रमा उपसभापति शर्माले प्रस्तुत गरेको ‘लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरण’ सम्बन्धी प्रतिवेदनसमेत पारित भएको छ। प्रतिवेदनमार्फत पार्टीभित्र मात्र नभई समग्र राजनीतिक संस्कृतिमा सुधार आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

शर्माले नेपाली कांग्रेसमा गुनासो, निराशा र आवेगभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशामा आधारित राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र सकारात्मक सोच र आपसी विश्वासको वातावरण निर्माण गर्न सके त्यसले कांग्रेसलाई मात्र नभई मुलुकको लोकतान्त्रिक अभ्यासलाई समेत बलियो बनाउने उनको भनाइ थियो।

उनले निराश व्यक्तिले देश निर्माण गर्न नसक्ने उल्लेख गर्दै कांग्रेसका नेता तथा कार्यकर्तामा आशा, विश्वास र भरोसाको भावना विकास हुनुपर्ने बताए। उनका अनुसार राजनीतिक दलभित्रको संस्कार र व्यवहारले नै मुलुकको राजनीतिक संस्कृतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पार्टीको आन्तरिक अभ्यासलाई समेत समयअनुकूल बनाउन आवश्यक छ।

शर्माले महाधिवेशनबाट जुनसुकै व्यक्ति जुनसुकै पदमा निर्वाचित भए पनि निर्वाचनपछि सबैले एकअर्कालाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने बताए। महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक भए पनि परिणामपछि विजयीलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, “हामी उत्तरदायित्व भएको कांग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन। हामी संस्कार भएको कांग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन। हामी विश्वास आफूभित्र भएको कांग्रेस बनाउन चाहन्छौँ, निराश कांग्रेस होइन।”

शर्माले आशा, विश्वास र भरोसासहित अघि बढ्ने राजनीतिक शक्तिले मात्रै संगठन र देशलाई बलियो बनाउन सक्ने धारणा राखे। महाधिवेशनबाट फर्किँदा नेताहरूले आफूले कुन पद जिते वा हारे भन्नेभन्दा पनि पार्टीभित्र सहकार्य र सहयोगको संस्कारलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले लोकतान्त्रिक संस्कृतिमा देखिएको क्षयलाई सुधार गर्नु कांग्रेसको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै बन्दसत्रबाट पारित दस्तावेजलाई पार्टीका नेता तथा कार्यकर्ताले अध्ययन र मनन गरी समाजका विभिन्न तहसम्म पुर्‍याउनुपर्ने बताए। लोकतान्त्रिक संस्कृतिको विकास पार्टीको आन्तरिक अभ्यासबाटै सुरु गर्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै, उपसभापति शर्माले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरे। संगठनभित्रको व्यवस्थापन, अनुशासन, सहकार्य र जिम्मेवारीलाई सुदृढ गर्दै अघि बढ्न सके कांग्रेसले आफ्नो राजनीतिक भूमिकालाई प्रभावकारी बनाउन सक्ने उनको भनाइ थियो।

1

Scroll to Top