ओखलढुंगाको सुनकोसी गाउँपालिका–९, ककनीबाट बोका खरिदका क्रममा नक्कली नोटको प्रयोग गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा चम्पादेवी गाउँपालिकास्थित केउरिनी निवासी २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन्।
उनीहरूले स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीनवटा बोका खरिद गर्दा कुल २८ हजार रुपैयाँको कारोबार गरेका थिए। त्यसक्रममा उनीहरूले १ हजार रुपैयाँ दरका १९ थान अर्थात् १९ हजार रुपैयाँ नक्कली नोट प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
नक्कली नोट कारोबार भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको खुलेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

