नेपालमा अन्डाको माग र उत्पादनबीच अझै ठूलो अन्तर देखिएको छ। देशभर दैनिक करिब ५० लाख अन्डाको माग रहे पनि अहिले ३८ लाखको हाराहारीमा मात्रै उत्पादन भइरहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। बजारमा अन्डाले उत्पादन लागतअनुसारको मूल्य पाउन थालेपछि व्यावसायिक किसानको आकर्षण बढ्दै गएको छ भने उत्पादन विस्तार गर्ने तयारीसमेत भइरहेको छ। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय लेयर्स कुखुरापालनमा किसानको सहभागिता बढ्न थालेको छ। अन्डाको मूल्यले उत्पादन लागत धान्न थालेपछि यस व्यवसायबाट पलायन भएका तथा नयाँ लगानी गर्न चाहने किसान पुनः आकर्षित हुन थालेका हुन्।
पोखरेलका अनुसार भारतबाट भन्सार छलेर आउने अन्डा गत वैशाखदेखि रोकिएपछि नेपाली किसानले केही राहत महसुस गरेका छन्। अवैध आयात नियन्त्रण भएपछि स्वदेशी उत्पादनले बजार पाउने वातावरण बनेको उनको भनाइ छ। संघले कोरोना महामारीअघि कायम रहेको उत्पादनको अवस्थालाई पुनः प्राप्त गर्ने लक्ष्य राखेको छ। त्यसबेला जस्तै दैनिक ६५ लाखदेखि ७० लाखसम्म अन्डा उत्पादन गर्ने रणनीतिअनुसार देशभरका लेयर्स कुखुरापालक किसानलाई संगठित गरेर उत्पादन बढाउने काम भइरहेको पोखरेलले बताए। उनका अनुसार माग पूरा गर्दै उत्पादन र आपूर्ति दुवै विस्तार गर्ने योजना बनाइएको छ।
चार वर्षमा ठूला किसानको संख्या १८० पुग्यो
लेयर्स कुखुरापालनमा लगानी गर्ने ठूला किसानको संख्या पछिल्ला वर्षमा बढेको छ। संघका अध्यक्ष पोखरेलका अनुसार चार वर्षअघि देशभर करिब १२० जना ठूला लेयर्स कुखुरापालक किसान रहेकामा अहिले यो संख्या बढेर १८० पुगेको छ। किसानको संख्या बढ्नुले अन्डा उत्पादन व्यवसायप्रति आकर्षण पुनः फर्किएको संकेत गरेको छ। तर मागअनुसार उत्पादन पुर्याउन भने अझै चुनौती रहेको संघको भनाइ छ। अन्डा उत्पादनका लागि किसानले लामो समयसम्म कुखुरा पाल्नुपर्ने भएकाले उत्पादन तत्काल बढाउन सम्भव हुँदैन। लेयर्सका चल्लालाई करिब २० हप्तासम्म हुर्काएपछि मात्रै अन्डा उत्पादन सुरु हुन्छ। संघका अनुसार देशभर साप्ताहिक रूपमा करिब एक लाख लेयर्स चल्ला उत्पादन हुने गरेका छन्। लेयर्स कुखुराले करिब ९० हप्तासम्म राम्रो उत्पादन दिने र त्यसपछि हटाउने गरिन्छ। त्यसैले बजारको मागअनुसार उत्पादन कायम राख्न चल्ला व्यवस्थापन, दाना, औषधि र खोरमा निरन्तर लगानी आवश्यक पर्छ।
एउटा अन्डा उत्पादन गर्न १९ रुपैयाँभन्दा बढी खर्च
अन्डाको बजार मूल्य बढे पनि किसानको उत्पादन लागत उच्च रहेकाले व्यवसायमा लागत व्यवस्थापन मुख्य चुनौती बनेको छ। संघका अध्यक्ष पोखरेलका अनुसार एउटा अन्डा उत्पादन गर्न औसतमा १९ रुपैयाँ खर्च लाग्ने गरेको छ। यसमा चल्ला खरिद, खोर निर्माण, कर्मचारी, कुखुराको मृत्युदर, बैंकको ब्याज, औषधि र दानालगायतका खर्च समावेश हुन्छन्। बजारमा ३० वटा अन्डा राखिएको एक क्यारेटको मूल्य करिब ६०० रुपैयाँसम्म पुगेको छ। किसानले प्रतिगोटा करिब १९ रुपैयाँमा बिक्री गर्दा उपभोक्तासम्म पुग्दा एउटा अन्डाको मूल्य २५ देखि ३० रुपैयाँसम्म पर्ने गरेको छ। उत्पादकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीचको अन्तरले बजारमा वितरण तथा बिक्री प्रक्रियाको लागतसमेत महत्त्वपूर्ण रहेको देखाउँछ। किसानका अनुसार उत्पादन लागत घटाउन नसक्दा यसको असर उत्पादकदेखि उपभोक्तासम्म परेको छ।
दानाको कच्चा पदार्थमा आयात निर्भरता
अन्डा उत्पादनको लागत उच्च हुनुमा कुखुराको दानाको मूल्य प्रमुख कारणमध्ये एक हो। दाना बनाउन आवश्यक मकै, भटमासलगायतका कच्चा पदार्थको ठूलो हिस्सा भारत तथा अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ। संघका अनुसार दाना उत्पादनमा प्रयोग हुने मकैको आपूर्तिमा समेत भारतमाथि उल्लेख्य निर्भरता रहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य, ढुवानी खर्च र अन्य लागत बढ्दा त्यसको प्रभाव नेपाली किसानको उत्पादन खर्चमा पर्ने गरेको छ। अध्यक्ष पोखरेलले चर्को गर्मी तथा रोगका कारण कुखुराको स्वास्थ्यमा समस्या आउँदा अन्डा उत्पादन घट्ने गरेको बताए। गत वैशाख–जेठमा बर्डफ्लु फैलिएपछि अन्डा उत्पादन गरिरहेका कुखुरा नष्ट गर्नुपरेको अवस्थाले पनि उत्पादनमा कमी आएको उनको भनाइ छ। अब मौसम चिसिँदै जाँदा उत्पादन केही बढ्ने अपेक्षा गरिएको छ।
देशका विभिन्न स्थानमा ठूला व्यावसायिक फार्म सञ्चालनमा छन्। दाउन्ने एग्रो फार्म दुम्कीबास, खिलुङकाली स्याङ्जा, जनकपुर एग्रो जनकपुरधाम, दुम्कीबास पोल्ट्री, हिमचुली पोल्ट्री रजहर तथा पूर्वाञ्चल पोल्ट्री विराटनगरले तीन लाखभन्दा बढी लेयर्स कुखुरा पाल्दै आएका छन्।
विश्व अन्डा दिवसमा पोषणको सन्देश
यसैबीच, विश्व अन्डा दिवसको अवसरमा शुक्रबार भरतपुरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघको केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा ‘जुम्बा डान्स’ र ‘एग वाक’ समावेश थिए। संघको कार्यालय रहेको उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गर्दै कार्यक्रम सुरु गरिएको थियो। अन्डा शरीरलाई आवश्यक पोषण उपलब्ध गराउने खाद्य पदार्थ भएकाले यसको महत्त्वबारे जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पोखरेलले बताए। जुम्बा डान्सपछि आयोजना गरिएको एग वाक अस्पतालरोड, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, पुनः चौबिसकोठी हुँदै एयरपोर्ट चोकबाट संघको परिसरमा पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले मानव स्वास्थ्यमा अन्डाको महत्त्व झल्काउने झाँकीसमेत प्रस्तुत गरेका थिए।
दिवसकै अवसरमा विभिन्न विद्यालयमा अन्डाको पोषणसम्बन्धी जानकारी दिने कक्षा सञ्चालन गरिएको थियो। अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा भरतपुरमा सरोकारवालाको सहभागितामा अन्डाको महत्त्वबारे प्यानल छलफलसहितको गोष्ठी पनि आयोजना गरिएको थियो। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अन्डा दिवसको यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको यो दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ।
संघले अन्डालाई सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सा बनाउँदै यसको पोषण र स्वास्थ्यसम्बन्धी फाइदाबारे आम नागरिकलाई जानकारी गराउने लक्ष्य राखेको छ। एकातिर किसान उत्पादन विस्तारमा जुटिरहेका छन् भने अर्कोतिर उपभोक्तामाझ अन्डाको पोषणसम्बन्धी चेतना बढाउने प्रयास भइरहेको छ। उत्पादन लागत घटाउन र मागअनुसार आपूर्ति बढाउन सकिएमा नेपाली अन्डा व्यवसायलाई थप स्थिर तथा प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ।

