Banijya News

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

1
1.0K Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले शनिबार नयाँ च्याम्पियन वा साविक विजेताको निरन्तरतामध्ये एउटा नतिजा पाउनेछ। उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

दुवै टोली यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छन्। लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने योजनामा छ भने सुदूरपश्चिम तेस्रो प्रयासमा पहिलो उपाधि उचाल्ने दाउमा छ। त्यसैले शनिबारको फाइनल दुवै टोलीका लागि प्रतिष्ठाको विषयसमेत बनेको छ।

यस खेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। दुवै खेलाडी आफ्ना टोलीलाई उपाधि दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्यमा छन्।

लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमा पनि राम्रो प्रदर्शन गरेको लुम्बिनीले आफ्नो जितको लयलाई प्लेअफमा समेत निरन्तरता दिएको छ।

यता, सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुनरागमन गरेको हो। लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको थियो। यसपटक भने विगतका कमजोरी सुधार्दै उपाधि जित्ने उसको लक्ष्य छ।

फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तयारी राम्रो रहेको र उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन्।

लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त आराम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए। उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो।

लिग चरणमा शीर्ष स्थान हासिल गर्नु र जितको लय कायम राख्नु सकारात्मक भए पनि फाइनलमा त्यसले मात्रै नतिजा निर्धारण नगर्ने रोहितको भनाइ छ। क्रिकेट सामूहिक प्रदर्शनमा आधारित खेल भएकाले सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए।

सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेलमा जित निकाले पनि फाइनलमा उसलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको रोहितले स्पष्ट पारे। लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई उनले व्यक्तिगत सफलताभन्दा पनि टोलीको उपलब्धिका रूपमा लिएका छन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला फाइनलमा लिने लक्ष्य रहेको बताए। उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई मुख्य चुनौतीका रूपमा लिँदै त्यसको सामना गर्ने रणनीतिमा टोलीले काम गरिरहेको जानकारी दिए।

प्रतियोगिताका क्रममा विदेशी खेलाडी आउने–जाने क्रमले टोलीको संयोजनमा केही समस्या आएको पनि उनले स्वीकार गरे। विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी समावेश गर्नुपर्ने भएकाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो।

दुवै टोलीको तयारी र आत्मविश्वास हेर्दा फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। लुम्बिनीका लागि उपाधि रक्षा गर्ने अवसर छ भने सुदूरपश्चिमका लागि लगातार दुई फाइनलको हार बिर्साउँदै इतिहास रच्ने मौका। अब शनिबारको खेलले एनपीएलको तेस्रो संस्करणको च्याम्पियन टुंगो लगाउनेछ।

1

Scroll to Top