अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न कडा कदम चाल्न भन्सार प्रशासनलाई निर्देशन दिएका छन्। उनले राजस्व संकलनको राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै पनि कमजोरी नगर्न र चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेका हुन्।
अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका क्रममा शुक्रबार विराटनगर पुगेका अर्थमन्त्री वाग्लेले मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को अवलोकन गरेका थिए। सो क्रममा उनले भन्सार प्रशासनको कामकारबाहीबारे जानकारी लिँदै राजस्व संकलनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
अर्थमन्त्री वाग्लेले भन्सारबाट हुने राजस्व चुहावट रोक्न प्रशासन निर्मम हुनुपर्ने बताए। राजस्व संकलनको लक्ष्य पूरा गर्न कार्यालय प्रमुखदेखि कर्मचारीसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
उनले सरकारले निर्धारण गरेको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्यलाई आत्मसात् गर्दै त्यसको प्राप्तिका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिए। राजस्व संकलनको लक्ष्यअनुसार काम नगर्ने कार्यालयहरू सरकारको निगरानीमा पर्ने चेतावनीसमेत उनले दिए।
‘राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,’ मन्त्री वाग्लेले भने।
उनका अनुसार भन्सार कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन गर्दा राजस्व संकलनको लक्ष्यलाई मुख्य आधार बनाइनेछ। यसका साथै कार्यालयको नेतृत्वको कामसमेत सोही आधारमा मूल्यांकन गरिने उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले राजस्व छल्ने तथा ठगी गर्ने व्यक्तिलाई भन्सार प्रशासनबाट कुनै पनि प्रकारको संरक्षण दिन नहुने बताए। भन्सारमा दस्तुर तथा थप दस्तुरका नाममा व्यवसायीले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ थियो।
उनले राजस्व संकलनसँगै व्यापार प्रवर्द्धनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। भन्सार प्रक्रिया छिटो, सरल र सहज बनाउँदै व्यावसायिक वातावरण सुधार गर्न आवश्यक रहेको उनले बताए। कार्यालयको कार्यसम्पादन प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा अन्य सहयोग चाहिए मन्त्रालयसँग निर्धक्क माग राख्न पनि उनले आग्रह गरे।
कार्यक्रममा निमित्त अर्थसचिव एवं राजस्व महाशाखा प्रमुख डा. सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणालाई प्रभावकारी बनाउन निर्देशन दिए। उनले भन्सार क्षेत्रमा दुईवटा गेट निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन मूल्यांकन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुपर्ने बताए।
सो अवसरमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाही, राजस्व संकलन तथा कार्यसम्पादन अवस्थाबारे जानकारी गराएका थिए।


