महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकी एक जेहेन्दार छात्रालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले स्वर्गीय सीताराम प्रसाईंको स्मृतिमा स्थापित ‘सीताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर–१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमाफर्त छात्रवृत्तिबापतको रकम हस्तान्तरण गरेका थिए ।
यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक अभावका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।


