सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रहेको आफ्नो सेयर स्वामित्व घटाएर ६६ प्रतिशतमा सीमित गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयले सेयर विनिवेशको सम्भावना, प्रक्रिया र उपयुक्त मोडालिटीबारे अध्ययन गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
अर्थ मन्त्रालयले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। समितिमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, कानुन सचिव पाराश्वर ढुंगाना र अर्थ मन्त्रालयकी सहसचिव कविता रेग्मी सदस्य रहेका छन् ।
उपसमितिलाई नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व घटाउने विषयमा विस्तृत अध्ययन गरी आवश्यक राय तथा सिफारिस पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिले सेयर विनिवेशको प्रक्रिया, विद्यमान कानुनी व्यवस्था, सम्भावित लगानीकर्ता तथा कार्यान्वयनका विकल्पबारे अध्ययन गर्नेछ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै नेपाल टेलिकममा रहेको आफ्नो सेयर स्वामित्व घटाउने नीति सार्वजनिक गरेको थियो । बजेटमा उल्लेखित नीतिलाई कार्यान्वयनमा लैजाने उद्देश्यले अहिले अध्ययन प्रक्रिया अघि बढाइएको हो ।
हाल नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको संयुक्त स्वामित्व ८.४८ प्रतिशत रहेको छ ।
सरकारले आफ्नो स्वामित्व ६६ प्रतिशतमा झार्ने निर्णय कार्यान्वयन गरेमा २५.४९ प्रतिशत बिन्दु बराबरको सेयर विनिवेश गर्नुपर्ने हुन्छ । यद्यपि, उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने, रणनीतिक लगानीकर्ता भित्र्याउने वा अन्य कुनै प्रक्रियाबाट विनिवेश गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।
नेपाल टेलिकम नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी भएकाले सरकारी सेयर विनिवेशको निर्णयले पुँजी बजारमा समेत प्रभाव पार्न सक्ने देखिन्छ । ठूलो परिमाणमा सरकारी सेयर बिक्रीमा आएमा कम्पनीको सेयर संरचना परिवर्तन हुनुका साथै बजारमा कारोबारयोग्य सेयरको आपूर्ति बढ्न सक्छ । यसले सेयरको मूल्य र कारोबारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बिक्रीको प्रक्रिया, मूल्य निर्धारण र लगानीकर्ताको सहभागितामा निर्भर हुनेछ ।
सरकारले ६६ प्रतिशत स्वामित्व कायम राख्ने योजना बनाएकाले प्रस्तावित विनिवेशपछि पनि कम्पनीको बहुमत स्वामित्व र नियन्त्रण सरकारकै हातमा रहनेछ ।
यसैबीच, अर्थ मन्त्रालयले विशाल बजार कम्पनीमा रहेको सरकारी सेयर विनिवेशबारे अध्ययन गर्न पनि सांसद खड्काकै संयोजकत्वमा अर्को उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
दुई सार्वजनिक कम्पनीको सरकारी सेयर विनिवेशसम्बन्धी अध्ययन एकैपटक अघि बढाइनुले सार्वजनिक संस्थानमा सरकारी लगानीको पुनर्संरचना तथा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने सरकारको नीतिलाई प्राथमिकता दिइएको संकेत गरेको छ ।


