नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक शक्ति, पद र पहुँचका आधारमा कसैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति दिन नहुने बताएका छन्। प्रधानमन्त्री, मन्त्री वा शीर्ष राजनीतिक नेतृत्वसँगको निकटताले अपराधमा संलग्न व्यक्तिले छुट पाउन नहुने उनको स्पष्ट धारणा छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिए।
उनले गलत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए। कांग्रेसका नेता तथा कार्यकर्ता नै गलत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए कारबाहीका लागि पार्टीले सहयोग गर्ने उनको भनाइ थियो। तर राजनीतिक पूर्वाग्रह राखेर कसैलाई निशाना बनाउने वा राज्यशक्तिको दुरुपयोग गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए।
कांग्रेसमा आबद्ध भएकै कारण केही नेता तथा कार्यकर्तालाई राज्यबाट प्रतिशोध साँधिएको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए। यही मापदण्ड सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताका हकमा पनि लागू हुनुपर्ने उनको भनाइ थियो।
थापाले सार्वजनिक टिप्पणी, आरोप वा राजनीतिक प्रचारकै आधारमा कसैलाई अपराधी करार गर्न नहुने स्पष्ट पारे। तर प्रधानमन्त्री, उनको टोली वा रास्वपा सभापतिसँग निकट रहेकै कारण कसैले कानुनी छुट र अतिरिक्त सुविधा पाउनु पनि अस्वीकार्य हुने उनले बताए।
कांग्रेसको प्रमुख शक्ति नैतिक पुँजी भएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो आचरण र ऐतिहासिक विरासतप्रति जिम्मेवार बन्न आग्रह गरे। बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदान स्मरण गर्दै उनले कांग्रेसले आफ्नो नैतिक धरातल कमजोर बनाउन नहुने बताए।
यसैबीच, प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने उनले बताए। थापाले २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग मागसमेत गरे।


