डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्क्यान एन्ड केयर’ बीमा योजना खरिद गर्न सकिने भएको छ। दुई कम्पनीबीच भएको सहकार्यपछि ग्राहकले इसेवा एपमार्फत नै जीवन तथा स्वास्थ्य बीमाको सुविधा लिन सक्ने भएका हुन्।
डिजिटल प्रविधिको प्रयोगबाट बीमालाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यसहित यो सेवा सुरु गरिएको कम्पनीहरूले जनाएका छन्। यसअघि सन नेपाल लाइफका शाखा कार्यालय तथा अभिकर्तामार्फत उपलब्ध हुँदै आएको उक्त योजना अब अनलाइन माध्यमबाट पनि खरिद गर्न सकिनेछ।
‘स्क्यान एन्ड केयर’ योजनाअन्तर्गत ग्राहकले कुल एक लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्नेछन्। यसमा टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार रुपैयाँ र सन मेडिकेयर स्वास्थ्य बीमातर्फ ५० हजार रुपैयाँसम्मको सुरक्षा समावेश गरिएको छ।
१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर बीमा योजना खरिद गर्न सक्नेछन्। बीमितको उमेर र छनोट गरिएको बीमा सुरक्षाका आधारमा वार्षिक बीमाशुल्क ७६० रुपैयाँदेखि एक हजार ४०५ रुपैयाँसम्म निर्धारण गरिएको छ।
डिजिटल माध्यमबाट बीमा खरिद गर्न सकिने भएपछि ग्राहकले बीमालेख लिन शाखा कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। मोबाइल एपबाटै प्रक्रिया पूरा गर्न सकिने भएकाले बीमा सेवा थप सहज, छरितो र प्रविधिमैत्री बन्ने कम्पनीहरूको विश्वास छ।
इसेवाले यसअघि पनि विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीसँग सहकार्य गरी डिजिटल बीमा सेवा प्रदान गर्दै आएको छ। एपमार्फत बीमाशुल्क भुक्तानीदेखि नयाँ बीमालेख खरिदसम्मका सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।


