नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वित्तीय पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनीले दक्षिण एसियाली लेखा व्यवसायीहरूको संगठन साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको हो ।
यो सम्मान प्राप्त गर्ने नेपाल लाइफ नेपालकै पहिलो जीवन बिमा कम्पनी बनेको छ । साफाद्वारा आयोजित ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बिमा विधामा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
बंगलादेशको राजधानी ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा मंसिर १२ गते आयोजित विशेष समारोहमा नेपाल लाइफलाई सम्मान प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी सहभागी भएका थिए ।
कम्पनीले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा आयोजित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । आईक्यानको सिफारिस तथा कम्पनीको वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा नेपाल लाइफले साफाको अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको हो ।
साफाले दक्षिण एसियाली क्षेत्रका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनको मूल्यांकन गरी उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । मूल्यांकनका क्रममा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनाजस्ता विषयलाई आधार बनाइन्छ ।
यस सम्मानले कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्ने प्रक्रियामा अपनाएको पारदर्शिता र संस्थागत उत्तरदायित्वलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीको बुझाइ छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो उपलब्धि कम्पनीका लागि मात्र नभई समग्र नेपाली जीवन बिमा क्षेत्रकै लागि गौरवको विषय भएको बताएका छन् ।
उनले पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा यस सम्मानलाई लिएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मानले कम्पनीलाई आगामी दिनमा अझ जिम्मेवार, उत्तरदायी र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्नेछ ।
पराजुलीले यस उपलब्धिका लागि निरन्तर विश्वास र सहयोग प्रदान गर्ने ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।


