Banijya News

काठमाडौंमा रिट्ज–कार्लटन र वेस्टिन होटल खुल्ने, ३०० नयाँ कोठा थपिँदै

1
1.0K Shares

विश्वप्रसिद्ध होटल व्यवस्थापन कम्पनी मेरियट इन्टरनेशनलले नेपालमा दुई नयाँ लक्जरी होटल सञ्चालन गर्ने भएको छ । कम्पनीले चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलसँग सहकार्य गर्दै काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्झौता गरेको हो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा दुवै कम्पनीबीच होटल सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी दुई होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । परियोजना सम्पन्न भएपछि मेरियटको नेपालस्थित पोर्टफोलियोमा करिब ३०० नयाँ कोठा थपिनेछन् ।

नेपालमा पहिलोपटक प्रवेश गर्न लागेको रिट्ज–कार्लटन ब्रान्डअन्तर्गतको होटल ठमेल क्षेत्रमा निर्माण हुनेछ । होटलमा १५० कोठा रहनेछन्, जसमध्ये ३० वटा सुइट हुनेछन् । पाँचवटा रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र रिट्ज–कार्लटन स्पा यसका प्रमुख आकर्षण हुनेछन् । होटलमा एक हजार १०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा सम्मेलन तथा कार्यक्रम आयोजना गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ ।

त्यस्तै, वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन् । होटलमा तीनवटा डाइनिङ स्थल, वेस्टिन वर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा रहनेछ । स्वास्थ्य, फिटनेस र सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिनको अवधारणाअनुसार होटल निर्माण गरिने कम्पनीले जनाएको छ ।

यी दुवै परियोजना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् । होटलहरूले उच्चस्तरीय पर्यटक आकर्षित गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्झौतापछि मेरियट इन्टरनेशनलका एसिया प्रशान्त (चीनबाहेक) क्षेत्रका अध्यक्ष राजीव मेननले नेपालमा विश्वस्तरीय हस्पिटालिटी सेवा विस्तार गर्न चौधरी ग्रुपसँगको सहकार्य सुदृढ बनाउन पाउँदा खुसी व्यक्त गरे । उनले यी परियोजनाले पर्यटन, स्थानीय रोजगारी र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यी परियोजना नेपाल र दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने यात्राको महत्वपूर्ण अध्याय भएको बताए । उनका अनुसार स्थानीय संस्कृति झल्किने, रोजगारी सिर्जना गर्ने र पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने गन्तव्य निर्माण गरिनेछ ।

मेरियटसँग सीजी हस्पिटालिटीको सहकार्य दक्षिण एसियामा पनि विस्तार भइरहेको छ । भारतमा ‘सिरिज बाई मेरियट’ अन्तर्गत दुई वर्षभन्दा कम अवधिमा ७५ भन्दा बढी होटल सम्झौता भएका छन् भने ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेका छन् । फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याइएको छ ।

सीजी हस्पिटालिटीका अनुसार कम्पनीको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी कोठा छन् । सन् २०३० सम्म होटल संख्या ६०० भन्दा बढी र कोठा संख्या ३० हजार पुर्‍याउने लक्ष्य राखिएको छ ।

1

Scroll to Top