Banijya News

चार महिनामै विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड आम्दानी

1
1.0K Shares

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बङ्गलादेश निर्यात गरी प्राधिकरणले उक्त आम्दानी गरेको हो ।

प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार चार महिनाको अवधिमा विद्युत् निर्यातबाट कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । यस अवधिमा विद्युत्‌को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्राधिकरणले वर्षायाममा उत्पादन बढी भई देशभित्र खपत हुन नसकेको अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यस्तै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् निर्यात भइरहेको छ ।

नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बङ्गलादेशमा पनि विद्युत् बिक्री हुँदै आएको छ । प्रत्येक वर्ष वर्षायामका छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँग भारतीय रुपैयाँ र बङ्गलादेशसँग अमेरिकी डलरमा विद्युत् कारोबार हुने गरेको छ ।

महिनागत विवरणअनुसार असोजमा सबैभन्दा बढी विद्युत् निर्यात भएको छ । उक्त महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो । असोजमा विद्युत्‌को औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा कायम भएको थियो ।

त्यस्तै, कात्तिकमा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यातबाट ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो। यसरी गत आवमा विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको उत्पादन बन्द भएको थियो । यसले चालु आवको विद्युत् निर्यात प्रभावित भएको उनले बताए ।

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनासमेत बाढीबाट प्रभावित भए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनको भनाइ छ ।

नेपाल विगत दुई वर्षदेखि विद्युत्‌को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ । विद्युत् निर्यातबाट भइरहेको आम्दानीले मुलुकको व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

1

Scroll to Top