नेपालमा अवैध हुण्डी कारोबारको सञ्जाल परम्परागत नगद कारोबारमा मात्र सीमित नरही बैंक खाता, व्यावसायिक कारोबार र डिजिटल माध्यमसम्म विस्तार हुँदै गएको देखिएको छ । विदेशबाट नेपालमा रकम भित्र्याउने र नेपालबाट विदेश पठाउने क्रममा अनौपचारिक वित्तीय माध्यमको प्रयोग बढिरहेको जोखिम नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले औंल्याएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू नेपाल) ले सार्वजनिक गरेको ‘हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण रिपोर्ट २०२६’ ले नेपालमा हुण्डी कारोबारको बदलिँदो स्वरूप, संलग्न व्यक्तिको प्रवृत्ति र वित्तीय प्रणालीमा देखिएका जोखिमबारे तथ्य सार्वजनिक गरेको हो ।
रिपोर्टअनुसार सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म हुण्डीसम्बन्धी एक हजार ६७२ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी रिपोर्ट प्राप्त भएका छन् । उक्त अवधिमा एफआईयूले प्राप्त गरेका कुल १५ हजार ८१५ रिपोर्टमध्ये हुण्डीसम्बन्धी रिपोर्टको हिस्सा १० दशमलव ५७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले विश्लेषण गरेका २०० वटा नमुना रिपोर्टमा ८४ प्रतिशत सम्बन्धित व्यक्ति पुरुष रहेको पाइएको छ । त्यस्तै, ६५ दशमलव ५ प्रतिशत व्यक्ति २५ देखि ४४ वर्ष उमेर समूहका छन् । रिपोर्टमा विद्यार्थी तथा गृहिणीका नाममा खोलिएका बैंक खातासमेत शंकास्पद कारोबारमा प्रयोग हुन सक्ने जोखिम औंल्याइएको छ ।
भौगोलिक तथा व्यावसायिक आधारमा हेर्दा विश्लेषण गरिएका नमुनामध्ये ५३ प्रतिशत सम्बन्धित व्यक्ति वा व्यवसाय मधेश प्रदेशमा रहेका छन् । व्यवसायको प्रकृतिअनुसार ४३ प्रतिशत खुद्रा व्यापार र ४१ दशमलव ५ प्रतिशत रेमिट्यान्सका उपएजेन्टसँग सम्बन्धित छन् । यद्यपि, यी तथ्यांक नमुना रिपोर्टमा आधारित भएकाले देशभरको कुल हुण्डी कारोबारको वास्तविक वितरणका रूपमा लिन मिल्दैन ।
बैंक खाता र डिजिटल माध्यमबाट कारोबार
रिपोर्टले हुण्डी कारोबारको स्वरूप परिवर्तन हुँदै गएको देखाएको छ । यसमा अरू व्यक्तिका बैंक खाता प्रयोग गर्ने, रकमलाई सानो-सानो हिस्सामा विभाजन गरी विभिन्न खातामा जम्मा गर्ने र स्थानान्तरण गर्ने प्रवृत्ति देखिएको छ । त्यसैगरी, व्यापारिक कारोबारको विवरणमा हेरफेर गर्ने, डिजिटल भुक्तानी माध्यम तथा भर्चुअल सम्पत्तिको प्रयोग गर्ने जस्ता गतिविधि पनि जोखिमका रूपमा पहिचान भएका छन् । यसले हुण्डी कारोबार पहिचान गर्न र त्यसमा संलग्न व्यक्तिको वित्तीय गतिविधि अनुसन्धान गर्न थप चुनौती सिर्जना गरेको छ ।
नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकले पनि हुण्डीसम्बन्धी अनुसन्धानका घटना बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यस्तो संख्या बढेर ६० पुगेको छ । पाँच वर्षको अवधिमा हुण्डीसम्बन्धी मुद्दामा २७३ करोड ६२ लाख रुपैयाँ अदालतबाट जफत गरिएको रिपोर्टमा उल्लेख छ ।
विदेशी मुद्रा र वित्तीय पारदर्शितामा चुनौती
हुण्डी कारोबारले विदेशबाट नेपाल भित्रिने रकम औपचारिक बैंकिङ प्रणालीमा नआउने अवस्था सिर्जना गर्न सक्छ । त्यस्तै, नेपालबाट विदेश जाने रकमको वास्तविक स्रोत, गन्तव्य र प्रयोजन पहिचान गर्न पनि कठिन बनाउँछ । यसले विदेशी मुद्रा व्यवस्थापन, सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा वित्तीय अपराध अनुसन्धानमा चुनौती थप्ने गरेको छ । नेपालमा हुण्डी कारोबार गैरकानुनी छ । यसको नियन्त्रणका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निगरानी क्षमता अभिवृद्धि गर्ने, शंकास्पद कारोबारको रिपोर्टिङ प्रभावकारी बनाउने र अनुसन्धान गर्ने निकायबीच समन्वय बढाउनुपर्ने सुझाव दिएको छ ।
साथै, विदेशमा रहेका नेपालीले कमाएको रकम परिवारसम्म पुर्याउँदा औपचारिक रेमिट्यान्स सेवा तथा बैंकिङ माध्यम प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।


