Banijya News

वैदेशिक रोजगार ऐन बदल्ने सरकारको तयारी, ठगी र विकृति नियन्त्रणमा नयाँ कानुन ल्याइने

1
1.0K Shares

वैदेशिक रोजगारीका नाममा नेपाली युवामाथि हुँदै आएको ठगी, शोषण र विभिन्न प्रकारका अनियमितता नियन्त्रण गर्न सरकारले वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्ने तयारी गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउँदै वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्न सरकार अघि बढेको बताएका छन्।

आइतबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा सम्मेलन (नेशनल युथ समिट) लाई सम्बोधन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा लामो समयदेखि देखिँदै आएका विकृति र विसङ्गति अन्त्य गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताए।

उनका अनुसार सरकारले वैदेशिक रोजगार ऐन संशोधनमार्फत श्रमिकका समस्या सम्बोधन गर्ने, रोजगारी प्रक्रियालाई पारदर्शी बनाउने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउने लक्ष्य लिएको छ।

मन्त्री यादवले विगतमा वैदेशिक रोजगारीका क्रममा देखिएका कमजोरीबाट पाठ सिक्दै नयाँ पुस्ताका युवाको भावना, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारका नीति तथा कार्यक्रम अघि बढाइने बताए।

नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश जाने गरेका छन्। तर, वैदेशिक रोजगारीमा जाने क्रममा चर्को सेवा शुल्क, झुटा आश्वासन, नक्कली मागपत्र, करारअनुसारको काम तथा पारिश्रमिक नपाउने र गन्तव्य मुलुकमा श्रमिकमाथि हुने शोषणजस्ता समस्या निरन्तर देखिँदै आएका छन्। यस्ता समस्यालाई कानुनी रूपमा सम्बोधन गर्न ऐन संशोधनलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

मन्त्री यादवले युवाका समस्या र अपेक्षालाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै श्रमिकको हित संरक्षण हुने गरी सुधारका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

1

Scroll to Top