Banijya News

सञ्चालनमा आयो चोभारको १३२ केभी सबस्टेसन, उपत्यकाको विद्युत् आपूर्ति थप सहज हुने

1
1.0K Shares

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी क्षमताको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै कीर्तिपुर, आसपासका क्षेत्र तथा ललितपुरको पुल्चोक क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको मातातीर्थ–चोभार खण्डबाट यहाँ विद्युत् आपूर्ति गरिएको हो।

स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका नौवटा फिडर निर्माण गरिएका छन्। तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रका लागि र बाँकी छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युत् वितरण गर्न प्रयोग गरिनेछन्। फिडरहरू क्रमशः चार्ज गरेर विद्युत् आपूर्ति सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको निरीक्षण गर्दै फिडरहरू तत्काल सञ्चालन गरी विद्युत् भार स्थानान्तरण गर्न निर्देशन दिएका छन्। उनका अनुसार चोभार सबस्टेसन सञ्चालनले बढ्दो विद्युत् माग व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ।

विशेषगरी हिउँदयाममा उपत्यकाको विद्युत् खपत बढ्ने भएकाले नयाँ सबस्टेसनले आपूर्ति प्रणालीमाथिको दबाब कम गर्ने अपेक्षा गरिएको छ। यसअघि स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभारमा स्थानान्तरण गरिनेछ।

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माणमा खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा जग्गा प्राप्ति तथा अन्य अवरोध देखिएपछि वैकल्पिक संरचनाका रूपमा चोभार सबस्टेसन निर्माण गरिएको हो।

यसैगरी चोभारदेखि पाटनसम्म करिब साढे चार किलोमिटर भूमिगत १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ। पाटनमा समेत नयाँ सबस्टेसन निर्माणाधीन छ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको चोभार सबस्टेसनका लागि १२ रोपनी १२ आना जग्गा प्रयोग गरिएको छ। यी पूर्वाधार पूर्ण रूपमा सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति अझ स्थिर र गुणस्तरीय हुने विश्वास प्राधिकरणले लिएको छ।

1

Scroll to Top