Banijya News

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर

1
1.1K Shares

सार्वजनिक खरिद प्रणालीमा अनधिकृत पहुँच पु¥याएर सरकारी ठेक्का प्रभावित पारिएको आरोपमा २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले विभिन्न निर्माण व्यवसायी, कम्पनी सञ्चालक, प्रोक्युरमेन्ट प्रतिनिधि र एक सरकारी कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाएको हो ।

अनुसन्धानअनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नेन्स प्रोक्युरमेन्ट (ई–बिडिङ) प्रणालीमा अनधिकृत पहुँच पु¥याई बोलपत्र पेश गर्ने अन्तिम समय सकिएपछि ठेक्कासम्बन्धी विवरण परिवर्तन गरिन्थ्यो । प्रतिस्पर्धी कम्पनीहरूको आर्थिक प्रस्ताव हेरेर आफूअनुकूल कम्पनीलाई सबैभन्दा कम दरमा देखाइने गरी डेटा संशोधन गरेर ठेक्का मिलाउने गरिएको आरोप छ ।

प्रहरीले यस प्रकरणको मुख्य योजनाकारमा सहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर दिवाकर देउजालाई मानेको छ । देउजाले प्रोग्रामिङ, क्लाउड सर्भर र पीएचपीमार्फत सिस्टममा ‘ब्याकडोर’ तयार गरी पहुँच बनाएको दाबी अनुसन्धानमा गरिएको छ । उनलाई फागुन २८ मा पक्राउ गरिएको थियो । हालसम्म यो प्रकरणमा १३ जना पक्राउ परेका छन् । बाँकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

ठेकेदार कम्पनीहरूसँग गोप्य समन्वय गरी रकमको बार्गेनिङ भएपछि मात्र बोलपत्रको विवरण परिवर्तन गरिन्थ्यो । यसका लागि नक्कली पहिचान प्रयोग गर्दै ह्वाट्सएप र ईमेलमार्फत सम्पर्क राखिएको पाइएको छ ।

प्रहरीले यो प्रकरणलाई केवल साइबर अपराध मात्र नभई ‘डिजिटल माध्यमबाट गरिएको सङ्गठित आर्थिक अपराध’का रूपमा व्याख्या गरेको छ । आरोपितहरूमाथि विद्युतीय प्रणालीमा अनधिकृत पहुँच, सङ्गठित अपराध तथा क्रिप्टो कारोबारसम्बन्धी कसुर पनि लगाइएको छ ।

यति मात्र नभई अवैध आर्थिक कारोबार ट्रयाक गर्न कठिन हुने भएकाले केही रकम बिटक्वाइनजस्ता क्रिप्टो माध्यमबाट विदेशमार्फत भुक्तानी गरिएको पनि अनुसन्धानबाट खुलेको छ । नेपालमा नगद मिलान गरी कारोबारलाई लुकाउने प्रयास भएको दाबी गरिएको छ । यस्तो कार्यमा प्रतिवादी भाष्करराज अर्याल संलग्न रहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top