कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कडाइ गर्दै ७९ वटै स्थानीय तहलाई २७ बुँदे मार्गनिर्देशन जारी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण, ससर्त, समपूरक र विशेष अनुदानसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको हो ।
मन्त्रालयका सचिव रविलाल शर्माले जारी गरेको मार्गनिर्देशनानुसार, समानीकरण अनुदानको खर्च विवरण साउन मसान्तभित्र पेस गर्नुपर्नेछ । चालु आर्थिक वर्षको दोस्रो किस्ता तथा त्यसपछि अनुदान माग गर्दा अघिल्लो किस्ताको खर्च विवरण अनिवार्य रूपमा प्रदेश लेखा नियन्त्रक कार्यालय वा लेखा इकाइ कार्यालयमा बुझाउनुपर्नेछ ।
स्थानीय तहलाई ससर्त, समपूरक र विशेष अनुदानबापतको पहिलो किस्ता निकासा गर्दा स्वीकृत कार्यविधिअनुसार खरिद योजना, कार्यान्वयन कार्ययोजना र बाँकी किस्ता प्राप्त गर्न कार्यप्रगतिको विवरण पेस गर्नुपर्नेछ । मन्त्रालयले वित्तीय तथा भौतिक प्रगति विवरण समयमै पेस नगर्ने स्थानीय तहलाई दिइने अनुदान रकम रोक्न सकिने व्यवस्था गरेको छ ।
यस्तै, ससर्त, समपूरक र विशेष अनुदानको रकम अन्यत्र खर्च नगर्न निर्देशन दिइएको छ । निर्दिष्ट कार्यक्रम वा आयोजनामै त्यो प्रयोग गर्न स्पष्ट निर्देश गरिएको छ । स्थानीय तहले संकलन गर्ने मनोरञ्जन, विज्ञापन कर, पर्यटन तथा प्राकृतिक स्रोत उपयोग शुल्क बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा समयमै दाखिला नगरेमा समानीकरण अनुदानबाट कट्टा गरी समायोजन गर्ने व्यवस्था गरिएको छ ।
राजस्व संकलनलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा लक्ष्य निर्धारण गरिएको छ । संकलित राजस्व प्रचलित कानुनानुसार बाँडफाँड गरी अनिवार्य रूपमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।


