नेपाल राष्ट्र बैंकले विगत साढे दुई वर्षदेखि बजारबाट निरन्तर पैसा झिकिरहेको छ। वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै पैसा तानिरहेको हो।
गत चैत २३, २०७९ मा रिपोमार्फत बजारमा पैसा पठाएदेखि राष्ट्र बैंकले हरेक साता आवश्यकताअनुसार रकम बजारबाट झिकिरहेको छ। अहिलेसम्म १ हजार ७५ पटक गरी कुल ३ सय १९ खर्ब ८४ अर्ब १५ करोड रुपैयाँ बजारबाट झिकिएको छ। त्यसमध्ये परिपक्व अवधि सकिएर केही रकम बजारमा फर्किए पनि करिब ६ खर्ब ८० अर्ब रुपैयाँ अझै पनि बाँकी (आउटस्ट्यान्डिङ) छ।
अर्थतन्त्रमा देखिएको शिथिलता र कर्जाको माग कम हुनु नै यस अधिक तरलताको मुख्य कारण रहेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए। “विभिन्न कारणले अर्थतन्त्रमा शिथिलता थियो, जसले गर्दा प्रभावकारी माग र कर्जाको मागमा कमी आयो। तर, रेमिट्यान्स राम्रो आइरहेको थियो र आयात अपेक्षित रूपमा बढेन,” उनले भने, “यसले गर्दा अधिक तरलताको अवस्था रह्यो र ब्याजदरमा स्थायित्व कायम गर्नका लागि तरलता प्रशोचन गरिएको हो।”
लामो समयसम्म अधिक तरलता कायम रहनु, ब्याजदर न्यून अवस्थामा पुग्नु र थप ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन सक्ने अवस्था नहुनुलाई अर्थतन्त्र ‘तरलताको पासो’ (Liquidity Trap) मा रहेको जानकारहरू बताउँछन्। हाल ब्याजदर ४९ महिनायताकै कम अवस्थामा पुगेको छ।
पूर्वबैंकर तथा बैंकिङ क्षेत्रका जानकार परशुराम कुँवर क्षेत्रीले निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता थपिएको बताए। “असारको तुलनामा निक्षेप ६१ अर्बले र कर्जा २६ अर्बले घटेको छ,” उनले भने, “अधिक तरलताको स्थिति हेर्दा अझै केही महिनासम्म यही अवस्था कायमै रहने देखिन्छ।”
कुँवर क्षेत्रीका अनुसार, ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन हुनुले पनि बजार माग घटेको छ। विगत चार वर्षमा करिब ३० लाख युवा रोजगारीका लागि र ५ लाख युवा अध्ययनका लागि विदेश गएका छन्। “युवा बाहिरिनुको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ,” उनले भने, “माग नबढेसम्म व्यवसाय बढ्दैन, र व्यवसाय विस्तार नभएपछि बैंकको कर्जा माग पनि बढ्दैन।” उनले बजारको माग बढाउन सरकारले ठूलो परिमाणमा खर्च बढाउनुपर्ने सुझाव दिए।
बैंक तथा वित्तीय संस्थाहरूमा गत सोमबारसम्म १० खर्ब १८ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन्। गत सोमबारसम्म ९ खर्ब ४४ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो, जुन पूरा हुन सकेको थिएन। चालु आर्थिक वर्षका लागि पनि करिब १२ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखिएको छ।


