सरकारले प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति (इन्डष्ट्री फोर) अवधारणा ल्याउन लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संयुक्त रुपमा इन्डष्ट्री फोरको कार्यायोजना मस्यौदा तयारी थालेका छन् ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउन इन्डष्ट्री फोरको अवधारणा ल्याएको हो । इन्डष्ट्री फोर अवधारणा विश्वव्यापी रुपमा आइसकेकाले नेपालले पनि कार्यान्वयनमा ल्याउन लागेको मन्त्रालयको भनाई छ ।
इन्डष्ट्री फोर अवधारणाले चौथो औद्योगिक क्रान्तिलाई जनाउँछ । यसमा नयाँ प्रविधिहरू र डिजिटल टेक्नोलोजीहरूको अधिकतम प्रयोग हुन्छ । जसले उद्योगहरूको संरचना र काम गर्ने तौरतरिकालाई व्यापक परिवर्तन गर्छ ।
इन्डष्ट्री फोरमा स्वचालन, कृत्रिम बौद्धिकता, इन्टरनेट अफ थिङस, रोबोटिक्स, मेसिन लर्निङ, प्रिन्टिङ र डेटा एनालिटिक्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग रहेको छ । यसका साथै प्रविधिहरूले उत्पादन प्रक्रियालाई धेरै दुरुस्त प्रभावकारी र किफायती बनाउछ ।
बजेटमा आएको अवधारणा कार्यान्वयनका लागि कार्ययोजना तयारीको काम सुरु भएको उद्योग मन्त्रालयका प्रवत्ता जितेन्द्र बस्नेतले बताए । चालू आर्थिक वर्षभित्र कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने योजना रहेको उनले सुनाए ।
प्रविधिसँग जोडिएको विषय भएकाले सूचना मन्त्रालयको पनि सहभागिता गराइएको उद्योगको भनाई छ । कार्ययोजना बनाउन सरकारले चालू आर्थिक वर्षमा साढे नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
इन्डष्ट्री फोर नेपालमा नौलो विषय हो । विकसित र उदीयमान अर्थतन्त्र फोर भन्दा माथि पुगिसकेका छन् । यता नेपाल भर्खर इन्डष्ट्री फोरमा जाने तर्खरमा छ । छिमेकी भारत र चीनका साथै बंगलादेश पनि इन्डष्ट्री फोरको अवधारणामा गइसकेको मन्त्रालयले जनाएको छ ।
आगामी वर्ष सन् २०२६ देखि नेपाल विकासशील मुलुकको पहिलो ‘चरण लोअर मिडिल इन्कम कन्ट्री’मा स्तरोन्नति हुने भएसँगै यो अवधारणा कार्यान्वयनमा ल्याउन लागेको हो ।
उद्योग मन्त्रालयको प्रस्तावमा इन्डष्ट्री फोर अवधारणा बजेटमा आएको हो । अत्याधुनिक मेसिनको प्रयोगबाट वस्तु उत्पादन गर्ने विधि नै इन्डष्ट्री फोर हो । नेपालमा अझै परम्परागत प्रविधिबाट उद्योग सञ्चालन हुँदै आएको छ । चौथो चरणको औद्योगिक अवधारणामा जान उन्नत मेसिन र सफ्टवेयर प्रविधिमा व्यवसायीले ठूलो लगानी गर्नुपर्ने भएको छ ।
उद्योगीहरुले नयाँ प्रविधियुक्त मेसिनका साथै नयाँ सफे्टवेयर जडान गर्दै जाने भएका छन् । ठूलो लगानी भएकाले पनि एकैपटक उद्योग डिजिटलमा जान गाह्रो हुन्छ यसलाई क्रमशः रुपान्तरण गर्दै जानुपर्ने बताइएको छ । अब विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), रोबोटिक्स, मेसिन लर्निङ डेटा एनालिसीस जस्ता अत्याधुनिक प्रविधिलाई औद्योगिकीकरणमा प्रयोग गर्दा छिटो उत्पादन हुनुका साथै उत्पादकत्व वृद्धि हुने सरकार र निजी क्षेत्रको बुझाइरहेको छ ।
यो अवधारणामा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ इन्डष्ट्री फोर अवधारणा कार्यान्वयनमा सकरात्मक रहेका छन् । निजी क्षेत्रको पहलमा इन्डष्ट्री फोर अवधारणा कार्यान्वयनमा आउन लागेको नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा उद्यमी भरतराज आचार्य बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने “इन्डष्ट्री फोर भनेको उद्योगमा डिजिटल टान्सफर्मेसन हो । म्यानुअल र मेकानिकल हुँदै आएकोमा अब डिजिटल हुनेछ ।” उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन इन्डष्ट्री फोर आवश्यक भएको उनको भनाइ छ ।
‘कन्भेन्सनल वे अफ इन्डष्ट्रियल अपरेशनल’लाई परिवर्तन गरेर इन्डष्ट्री फोर जिरो गरेपछि नेपालमा उत्पादन हुने वस्तुको लागत घटेर प्रतिस्पर्धा क्षमता वृद्धि र गुणस्तर बढेर अन्तर्राष्ट्रियस्तर कायम हुने उनले जानकारी दिएका छन् ।
इन्डष्ट्री फोरमा जाँदा पहिलो चरणमा धेरै लगानी आवश्यक पर्ने छ । धेरै कम श्रमिक परिचालन हुने भएकाले उद्योगमा कर्मचारी खर्च कम हुन्छ । जसले गर्दा उद्योगको उत्पादकत्व बढ्नुका साथै रियल टाइममा उत्पादन हुनेछ ।
अहिले विश्वमा तीन प्रमुख औद्योगिक क्रान्ति भइसकेको छ । पहिलो औद्योगिक क्रान्ति सन् १७८० को दशकमा सुरु भएको थियो । जसमा वस्तु उत्पादनमा वाफ र मेकानिकल प्रविधिहरूको प्रयोग भएको थियो ।
दोस्रो, औद्योगिक क्रान्ति सन् १९०० को दशकमा आयो । जसले विद्युत र इन्डस्ट्रियल मेसिनहरूको प्रयोगलाई प्रेरित गरेको थियो भने तेस्रो औद्योगिक क्रान्ति १९७० को दशकमा इन्फर्मेसन टेक्नोलोजी र कम्प्युटराइजेसनको विकासँगै तेस्रो औद्योगिक क्रान्तिको सुरुवात भएको मानिन्छ ।


