दरमखोला हाइड्रो इनर्जी लिमिटेडले थप सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले थप सर्वसाधारणमा साउन १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ साउन २९ गते बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफााट गरिएको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले दिएको छ ।
भाग्यमानी २ लाख ४२ हजार ३१८ जना आवेदकहरुलाई पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर यी आवेदकहरुमध्ये २० कित्तासम्म माग गर्ने ५ जनामा थप एक कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । यसरी हेर्दा कम्पनीको आईपीओ प्राप्त गर्नेमध्ये ५ जनाले ११ कित्तासम्म पाएका छन् ।
तोकिएको अवधिभित्र २२ लाख ९६ हजार ४६५ जनाले २ करोड ६४ लाख ९८ हजार ५९० कित्ता आईपीओ खरीदको माग गर्दै आवेदन दिएका थिए । यीमध्ये १३ हजार २३९ जना आवेदकहरुले १ लाख ८५ हजार ९१० कित्ताका लागि दिएको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्ध गरिएको छ । २२ लाख ८३ हजार २२६ जना आवेदकलाई मात्र आईपीओ बाँडफाँटमा सहभागी गराइएको थियो ।
कम्पनीले थप सर्वसाधारणमा आईपीओ जारी गर्नु अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।


