Banijya News

३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्दै नेपाल टेलिकम

1
1.1K Shares

नेपाल टेलिकमले ३० प्रतिशत सेयर सर्वसाधारलाई बेच्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा सरकारको बहुमत कायम रहने गरी टेलिकमको ३० प्रतिशत सेयर आमनागरिकलाई बिक्री गर्ने योजना ल्याएको हो। पटक–पटक योजना ल्याएर कार्यान्वयन नभएकाले यो वर्ष पनि टेलिकमको स्वामित्व बिक्री र रणनीतिक साझेदार भित्र्याउने विषय कागजमै सीमित हुने सम्भावना छ ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपाल टेलिकममा कर्मचारीसहित सर्वसाधारणको सेयर हिस्सा हाल ८.४७ प्रतिशत छ । ९१.५३ प्रतिशत हिस्सा सरकारको छ ।

३० प्रतिशत सेयर बिक्री भएमा टेलिकममा सरकारको स्वामित्व घटेर ६१.३० प्रतिशत मात्र हुनेछ । हाल टेलिकमको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँ छ ।

चालु आर्थिक वर्षमा टेलिकमको सेयर बिक्री र रणनीतिक साझेदारको प्रक्रिया अघि बढाइने अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले बताए ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अर्थ मन्त्रालयमा यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव पठाएको थियो । रणनीतिक साझेदार भित्र्याउन ०७५ सालमा नै टेलिकमको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरिएको थियो । त्यति बेला एनालाइसिस म्यासन इन्डियाले टेलिकमको डीडीए गरेको थियो ।

त्यस बेलाका सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउने योजना बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश बजेटमा टेलिकमको २२ प्रतिशत सेयर बिक्री गर्ने योजना ल्याएको थियो ।

यस्तै, मोबाइल ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर बिक्री गर्ने योजना बजेटमा थियो । त्यस बेला ०७८ पुस मसान्तसम्म कायम ग्राहकले सेयर खरिदमा सहभागी हुन सक्ने व्यवस्था मिलाइने भनिएको थियो ।

मोबाइल प्रयोगकर्ता ह्वाट्सएप, भाइबर र म्यासेन्जरजस्ता ओभर द टप (ओटीटी) एपमा झुम्मिँदा मुलुकमा सञ्चालित टेलिकम सेवाप्रदायकको आम्दानीमा गिरावट आएको छ ।

टेलिकम कम्पनीहरूको भ्वाइसका साथै डेटा सेवाबाट प्राप्त हुने आम्दानी निरन्तर ओरालो लाग्दै गएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले गिरावट आएको छ । दोस्रो त्रैमासमा टेलिकम कम्पनीको खुद नाफा झन्डै आधा ४९.१९ प्रतिशतले घटेको थियो ।

तेस्रो त्रैमासमा आउँदा कम्पनीको नोक्सान फराकिलो हुँदै गएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइसकेको छैन । टेलिकमले चालु आर्थिक वर्षको चैतसम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यही अवधिमा टेलिकमको खुद नाफा पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमको नाफा झन्डै शतप्रतिशत अर्थात् दुई अर्ब ६९ करोड ५२ लाख ७४ हजार रुपैयाँले घटेको छ ।

यस्तै, नेपाल टेलिकमको कुल आम्दानी घटेर २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँमा सीमित छ । गत वर्षको यही अवधिमा टेलिकमको कुल आम्दानी ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ थियो ।

1

Scroll to Top