१७ मध्ये मात्र ६ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। अवधि सकिन केही दिन मात्र बाँकी हुँदा ११ विकास बैंकले अझैँ अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।
बिहीबार अर्थात् साउन २९ गतेसम्म आधा दर्जन विकास बैंकहरुले मात्र गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । यस्तो विवरण सार्वजनिक गरेका शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकले गत आवको असार मसान्तसम्म कुल दुई अर्ब १७ करोड ८७ लाख ११ हजार तीन सय १० रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा नौ करोड ३५ लाख ५२ हजार पाँच सय ६० रुपैयाँले मात्र बढी हो ।
अघिल्लो आवको सोही अवधिमा यी बैंकले कुल दुई अर्ब आठ करोड ५१ लाख ५८ हजार सात सय ५० रुपैयाँ मात्र खुद नाफा कमाएका थिए । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुङ्गाले गत आवको चौथो त्रैमासमा ६८ करोड ८६ लाख २९ हजार नौ सय ४० रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव २४ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा बैंकको खुद नाफा ६८ करोड ५३ लाख २१ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ४३ प्र्रतिशत थियो ।
त्यस्तै, गत आवको चौथो त्रैमासमा कामना सेवाको खुद नाफा ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ छ भने तीन दशमलव ६८ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा कामनाले ६८ करोड १५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउँदा निष्क्रिय कर्जा तीन दशमलव ३६ प्र्रतिशत थियो ।
यसबाहेक, साङ्ग्रिला डेभलपमेन्ट बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको विवरणले देखाएको छ । बैंकको निष्क्रिय कर्जा यस अवधिमा पाँच दशमलव ६४ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सो वर्ष बैंकको तीन दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय थियो । यता, क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिकमा १३ करोड चार लाख दुई हजार रुपैयाँ खुद नाफा कमाउँदा शून्य दशमलव २८ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउँदा शून्य दशमलव ८१ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी, क्षेत्रीयस्तरकै सिन्धु विकास बैंकले चौथो त्रैमासिकमा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको खराब कर्जा छ दशमलव शून्य तीन प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा तीन करोड चार लाख १२ हजार रुपैयाँ र निष्क्रिय कर्जा १० दशमलव ६३ प्र्रतिशत थियो । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासमा छ करोड ९४ लाख आठ हजार रुपैयाँ खुद नाफा गरेको छ । विवरणअनुसार बैंकको यो अवधिमा खराब कर्जा तीन दशमलव ३३ प्रतिशत देखिएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले तीन करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।


