Banijya News

चार सार्वजनिक उद्योगको सम्पत्ति एकिन गर्न बोलपत्र आह्वान गर्दै मन्त्रालय

1
1.2K Shares

अर्थ मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने भएको छ । मन्त्रालयले परामर्शदाता कम्पनीहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिसकेको छ । चार उद्योगको डीडीए गर्न ४२ चाटर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेश गरेका छन् । प्रतिस्पर्धाबाट ४२ मध्ये चार कम्पनी छनोट हुने भएका छन् ।

अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले संक्षिप्त सूची प्रकाशित भइसकेकाले अब बोलपत्र आह्वान हुने जानकारी दिए । उनले बाह्रखरीसँग भने, ‘‘परामर्शदाता छनोटपछि संस्थानको डीडीए सुरु हुनेछ ।’’

अर्थ मन्त्रालयले जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता नियुक्त गर्न लागेको हो । मूल्यांकन सकिएपछि मन्त्रालयले ती उद्योगलाई निजीकरण प्रक्रिया अघि बढाउनेछ ।

जनकपुर चुरोट कारखानाका लागि आठ परामर्शदाता, नेपाल ओरियन्ट म्याग्नेसाइट र नेपाल मेटल कम्पनीका लागि ११–११ तथा बुटवल धागो कारखानाका लागि १२ परामर्शदाता संक्षिप्त सूचीमा परेका छन् ।

सरकारले जनकपुर चुरोट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो र नेपाल मेटल कम्पनीसँगै हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र गोरखकाली टायर उद्योग लिमिटेडको निजीकरण प्रक्रिया अघि बढाएको छ । तर गोरखकाली रबर उद्योगको संक्षिप्त सूची भने सार्वजनिक भएको छैन ।

एसियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा तीन उद्योगको सम्पत्ति मूल्यांकन भइरहेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्ष रहेको सरकारी लगानी व्यवस्थापन समितिको निर्णयका आधारमा चार उद्योग सरकारले मूल्यांकन गर्दै छ भने बाँकी तीन उद्योग एडीबीको प्राविधिक सहयोगमा मूल्यांकन हुँदैछ ।

परामर्शदाता कम्पनीले उद्योगहरूको मूल्यांकन प्रतिवेदन बुझाएपछि सरकारी लगानी व्यवस्थापन समितिले निर्णय गर्नेछ । सम्पत्ति र दायित्वको यथार्थ अवस्था देखाएपछि प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ ।

1

Scroll to Top