Banijya News

३१ म्युचुअल फन्डले दिए इकाइधनीलाई लाभांश, कुनले कति ?

1
1.1K Shares

विभिन्न म्युचुअल फन्डहरूले आ–आफ्नो लाभांश दर घोषणा गरेका छन्। अहिलेसम्म जम्मा ३१ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।

हाल ५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २० प्रतिशत बढी लाभांश घोषणा गरेका छन् ।

कतिपयको बुक क्लोज भई मूल्य समायोजन समेत भइसकेको छ । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।

२० प्रतिशत बढी लाभांश पाइने म्युचुअल फन्डको बजार मूल्य ११.२३ रुपैयाँदेखि ११.४५ रुपैयाँसम्म छ । लक्ष्मी उन्नति कोषको मूल्य समायोजन भइसकेको छ।

कुन म्युचुअल फन्डको लाभांश कति ?
नेपालका विभिन्न म्युचुअल फन्डहरूले आ–आफ्नो लाभांश दर सार्वजनिक गरेका छन्। तीमध्ये सानिमा लार्ज क्याप फन्डले सबैभन्दा उच्च २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसपछिका स्थानमा लक्ष्मी उन्नति कोष, आरबीबी म्युचुअल फन्ड १, सिद्धार्थ इक्वीटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २ जस्ता फन्डहरूले समान रूपमा २० प्रतिशत लाभांश दिएका छन्।

सनराइज ब्लु चिपले १९ प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ३ ले १७ प्रतिशत लाभांश वितरण गरेका छन्। शुभ लक्ष्मी कोषले १६ प्रतिशत, सानिमा ग्रोथ फन्डले १५.७९ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२, एनएमबी ५०, एनएमबी सुलभ फन्ड २ ले समान रूपमा १५ प्रतिशत लाभांश प्रदान गरेका छन्।

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फन्डले १४ प्रतिशत, सनराइज फोकस्ड इक्वीटी फन्डले १३.५ प्रतिशत, आरबीबी म्युचुअल फन्ड २ ले १३ प्रतिशत र प्रभु सेलेक्ट फन्डले १२ प्रतिशत लाभांश घोषणा गरेका छन्। कुमारी इक्वीटी फन्डले ११.५ प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५ प्रतिशत, एनआईसी एसिया फ्लेक्सी क्यापले १०.१ प्रतिशत र प्रभु स्मार्ट फन्डले १० प्रतिशत लाभांश दिएका छन्। त्यसैगरी, एनआईसी एसिया ब्यालेन्सड् फन्डले ९.९ प्रतिशत, नबिल फ्लेक्सी क्याप र कुमारी सबल योजनाले ९–९ प्रतिशत तथा कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत लाभांश दिएका छन्।

एनआईसी एसिया सेलेक्ट ३० ले ८.६५ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक स्किमले ८ प्रतिशत, एनआईबीएल सहभागिता फन्डले ७ प्रतिशत र एनआईसी एसिया डायनामिक डेप्टले ५.५५ प्रतिशत लाभांश वितरण गरेका छन्। अन्त्यमा, गरिमा समृद्धिले ५.१ प्रतिशत, एनएमबी सरल बचत फन्डले ४.२७ प्रतिशत र मुक्तिनाथ म्युचुअल फन्डले ३.८ प्रतिशत लाभांश घोषणा गरेका छन्।

खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु) का आधारमा यी योजना १५/२० प्रतिशत छुटमा पाइने गरेको छ । एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको प्रतिफल पनि उल्लेख्य देखिएको छ ।

अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका इकाइले समेत लाभांश दिएका छन् । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । यीबाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा छन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन ।

यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट डिम्याट खातामा जम्मा हुँदै जान्छ ।

सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले विगतमा एकै वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।

म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबारको निर्णय गर्छन् ।

1

Scroll to Top