Banijya News

वाणिज्य बैंकहरुको नाफा कुल सम्पत्तिको एक प्रतिशत मात्रै

1
1.1K Shares

२० वाणिज्य बैंकले गत आर्थिक वर्ष ०८१/८२ मा ७३ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ कुल सम्पत्तिबाट ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा कुल सम्पत्तिको एक प्रतिशत मात्रै हो ।

बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा यस वर्ष नाफा ४३.३९ प्रतिशतले बढेको देखिएको छ। तर नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति गर्दा नाफा घट्ने निश्चित भएको छ। नाफा घट्दा बैंकहरूको कुल सम्पत्तिबाट प्राप्त प्रतिफल (रिटर्न अन एसिट्स – ROA) पनि घट्ने गर्छ।

अघिल्लो वर्ष बैंकहरूले कुल ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। त्यो कुल सम्पत्तिको ०.८१८ प्रतिशत मात्र थियो। यसरी तुलना गर्दा, यस वर्ष प्रतिफल केही बढे पनि बैंकहरूको सम्पत्तिको आकारअनुसार नाफा अझै पर्याप्त देखिँदैन।

२० वाणिज्य बैंकमध्ये ११ बैंकले मात्र एक प्रतिशतभन्दा माथिको ROA कायम गर्न सकेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक, सबैभन्दा अगाडि रह्यो, जसले १ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ सम्पत्तिबाट तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ नाफा कमाउँदै १.९८ प्रतिशत ROA कायम गरेको छ।

त्यसैगरी एभरेष्ट बैंकले ३ खर्ब ३० अर्ब रुपैयाँ सम्पत्तिबाट ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएर १.४९ प्रतिशत ROA कायम गरेको छ। नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास र प्राइम कमर्सियल बैंकले पनि आफ्नो सम्पत्तिबाट तुलनात्मक रूपमा राम्रो प्रतिफल निकालिरहेका छन्।

तर सिद्धार्थ, सानिमा, नेपाल बैंक र एनएमबि जस्ता ठूलो सम्पत्ति भएका बैंकले आफ्ना सम्पत्तिअनुरूप नाफा निकाल्न नसकेको देखिन्छ। माछापुच्छ्रे, लक्ष्मी सन्राइज र ग्लोबल आइएमई बैंक मध्यम कार्यक्षमता देखिन्छ भने सिटिजन्स, कुमारी र हिमालयन बैंक कमजोर सूचीकृत छन्। सबैभन्दा कमजोर कार्यक्षमता एनआईसी एशिया बैंकको देखिएको छ, जसले ४ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ सम्पत्तिबाट मात्र १६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

पूर्व नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंकहरूको औसत ROA दुई प्रतिशतभन्दा माथि हुनु राम्रो मानिन्छ। तर अहिले प्रतिस्पर्धा बढ्दा औसत ROA घट्दै गएको छ। कुल सम्पत्तिबाट प्रतिफल घट्नु बैंकहरूको लगानी क्षमता, जोखिम व्यवस्थापन र आयस्रोत सन्तुलनमा चुनौती रहेको स्पष्ट संकेत हो।

नाफा कम हुँदा यसको प्रत्यक्ष असर दोस्रो बजारमा पनि देखिएको छ। राम्रो प्रतिफल आर्जन गर्ने बैंकहरूको सेयर मूल्य उच्च रहँदा कमजोर बैंकहरूको सेयर मूल्य न्यून भएको छ। एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकले सेयरधनीलाई उच्च लाभांश दिने क्षमतासहित बजार मूल्य उच्च राख्न सफल भएका छन्।

यता हिमालयन, कुमारी, एनआईसी एशिया र नेपाल बैंक संचित नोक्सानीमा भएकाले यस वर्ष लाभांश दिन सक्ने अवस्थामा छैनन्। सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको पनि लाभांश क्षमता न्यून देखिएको छ।

एभरेष्ट बैंक लाभांश क्षमतामा सबैभन्दा अगाडि छ, जसको क्षमता ३८.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांशसहित १५.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

1

Scroll to Top