गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा ९.४ प्रतिशतले बढेको छ । यससँगै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा १५ खर्ब १८ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो ।
औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १० खर्ब ६३ अर्ब ९४ करोड कर्जा लगानीमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४ अर्ब ११ करोड कर्जा लगानीमा प्रतिवेदनले देखाएको छ ।
औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.२, मधेश प्रदेशको ८, बागमती प्रदेशको ७०.१, गण्डकी प्रदेशको २, लुम्बिनी प्रदेशको ८.७, कर्णाली प्रदेशको ०.३ र सुदूरपश्चिम प्रदेशको १.७ प्रतिशत छ ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २९.४ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ०.८०, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.५३, गैर– खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३८.०३, निर्माणसम्बन्धी उद्योगमा ११.८१, विद्युत ग्यास तथा पानीसम्बन्धी उद्योगमा २४.२५ र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.५९ प्रतिशत कर्जा प्रवाह भएको छ ।


