Banijya News

कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

1
1.2K Shares

जापानले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि करिब ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण उपलब्ध गराउने भएको छ। अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा दुईवटा फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउन कुल ३९ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ।

सडक विभागको प्रस्तावअनुसार जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत ऋण उपलब्ध हुनेछ। बाँकी रकम नेपाल सरकारले व्यहोर्नेछ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानी ऋण स्वीकार गर्ने निर्णय गरिसकेको छ। अब जापान सरकारले पनि नेपाललाई ऋण दिने सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

सडक विभागका अनुसार मनोहरादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म फ्लाई ओभर, विमानस्थल क्षेत्रअगाडि हाफकट टनेल र त्यहाँबाट तिनकुनेको बागमती पुलसम्म अर्को फ्लाई ओभर बनाउन जाइकाले ‘पूर्वतयारी सर्वेक्षण’ गरेको थियो। त्यसअनुसार लगानी अनुमान गरिएको हो। जग्गा प्राप्तिका लागि आवश्यक बजेट नेपाल सरकारले दिनेछ।

परियोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) तयार पार्न परामर्शदाता छनोट प्रक्रिया सुरु हुने विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए। उनका अनुसार परामर्शदाता छनोटमा कम्तीमा ६ महिना र विस्तृत अध्ययनमा झन्डै एक वर्ष लाग्ने देखिएको छ।

“ऋण सम्झौता भएपछि हामी काम अघि बढाउँछौँ। छिटो काम भए दुई–तीन वर्षभित्र निर्माण सुरु गर्न सकिन्छ,” उनले बताए।

कोटेश्वर उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरको संगमस्थल भएको तथा पूर्वी नेपाल जाने मुख्य नाकामध्ये एक भएकाले ट्राफिक चाप सर्वाधिक हुने स्थान मानिन्छ। त्यसैले उक्त चोकलाई व्यवस्थित गर्न यो आयोजना अघि बढाइएको हो।

1

Scroll to Top