Banijya News

चार वर्षमै पाँच गुणाले बढ्यो गैर बैङ्किङ सम्पत्ति, किन बढ्दै छ ? 

1
1.2K Shares

पछिल्ला चार वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) को आकार झन्डै पाँच गुणाले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको गैरबैंकिङ सम्पत्ति २०८१/८२ को जेठसम्म आइपुग्दा ४५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

पत्रपत्रिकामा पटक–पटक लिलामी सूचना प्रकाशित गर्दा पनि धितो बिक्री नभएपछि बैंकहरूले हाल आफ्ना वेबसाइटमार्फत पनि गैरबैंकिङ सम्पत्ति बिक्रीका सूचना सार्वजनिक गर्न थालेका छन्। बैंकहरूले ‘अक्शन हब’, ‘अक्शन एसिस्टेन्स’जस्ता छुट्टै पेज बनाएर सम्पत्तिको तस्वीर, कित्ता नम्बर, नक्सा, क्षेत्रफल र लोकेशनसहितको विवरण राख्ने व्यवस्था गरेका छन्। त्यस्तै, अनलाइनमै सम्पर्क गरी सम्पत्ति खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ।

किन बढ्दै छ गैरबैंकिङ सम्पत्ति ?

आर्थिक गतिविधिमा देखिएको शिथिलता, घरजग्गा कारोबारमा गिरावट र सहकारीमा देखिएको समस्या कारणले धितो लिलाम हुन नसकेको बैंक अधिकारीहरूको भनाइ छ। पत्रिकामा सूचना प्रकाशित गर्ने कानुनी प्रावधान पालना भए पनि धितोमा ग्राहक नआएपछि गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको हो।

एक बैंकका उच्च अधिकारीका अनुसार, दुई वर्षअघिसम्म सूचना निकाल्नेबित्तिकै धितो लिलाम हुने गर्थ्यो, तर अहिले लिलामीमा कोही नआएपछि ग्राहक आकर्षित गर्न नयाँ उपाय खोजिएको हो।

राष्ट्र बैंकका अनुसार ४५ अर्ब ७० करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्तिमा मात्रै वाणिज्य बैंकहरूको हिस्सा ३८ अर्ब ७९ करोड रुपैयाँ छ। यी सम्पत्तिमा प्रायः घरजग्गा नै बढी रहेका छन्।

राष्ट्र बैंकले अघिल्लो मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरे पनि कानूनी पूर्वाधार नबनेपछि कार्यान्वयन हुन सकेको छैन। त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको सुधार समिति ‘खराब बैंक’ स्थापना गर्ने सिफारिश पनि कार्यान्वयनबाहिरै छ।

विद्यमान भूमिसम्बन्धी ऐन, २०२१ अनुसार बैंक, वित्तीय संस्था वा सहकारीले धितोको रूपमा सकार गरेको जग्गा तीन वर्षभित्र विक्री गर्नुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विक्री नभएमा सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था पनि ऐनले गरेको छ। तर, सम्पत्ति विक्रीमा कठिनाइ देखिएपछि बैंकहरूले तीन वर्षे प्रावधान संशोधन गर्न माग गर्दै आएका छन्।

नबिकेका धितोहरू बढ्दै गएपछि बैंकहरूले आफ्नै वेबसाइटमार्फत ग्राहकसम्म सूचना पुर्‍याउने प्रयास थालेका छन्। राष्ट्र बैंकले भने यसलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न अलग्गै कानूनी संरचना आवश्यक रहेको जनाएको छ।

1

Scroll to Top