पछिल्लो पाँच वर्षमा देशभर एक सय १० वटा तारे होटल सञ्चालनमा आएका छन्। पर्यटन विभागका अनुसार यस अवधिमा ६ हजार ६४२ कोठा र ९ हजार ८२१ बेड सहितका होटल थपिएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा १६ वटा, २०७८/७९ मा ३० वटा, २०७९/८० मा २२ वटा, २०८०/८१ मा २२ वटा र २०८१/८२ मा २६ वटा होटल दर्ता भएका थिए। यी होटलमा ६ हजार २३५ जनाभन्दा बढीले रोजगारी पाएका छन्।
गत आर्थिक वर्ष मात्रै एउटा पाँचतारे डिलक्स, ६ वटा पाँचतारे, ४ वटा चारतारे, एक–एक वटा दुईतारे र एकतारे होटल सञ्चालनमा आएका छन्। सो वर्ष ४ वटा साधारण रिसोर्ट र ३ वटा डिलक्स रिसोर्ट पनि खुलेका थिए। काठमाडौं उपत्यकामा मात्र ६ वटा नयाँ पाँचतारे होटल थपिएका छन्।
नेपालका विभिन्न सहरमा रिसोर्टदेखि तारे होटलको संख्या बढ्दै गएको छ। हालसम्म विभागमा तीन सय ४७ वटा तारे होटल तथा रिसोर्ट दर्ता भएका छन्। यी होटलमा १५ हजार ५९१ कोठा र २४ हजार ७३६ बेड रहेका छन्।
होटल व्यवसायमा अर्बौं लगानी भएको संघका अध्यक्ष विनायक शाह बताउँछन्। उनका अनुसार संरचना विस्तार भइरहे पनि पर्यटक संख्या नबढे सम्म लगानीले अपेक्षित नतिजा नदिने भएकाले पर्यटक आकर्षणमा सबै क्षेत्र लाग्नुपर्ने आवश्यकता छ।
प्रदेशवार अवस्था
विभागका तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा २३९ वटा तारे होटल दर्ता भएका छन्। गण्डकीमा ४४, लुम्बिनीमा ३४, कोशीमा १२, मधेसमा १२, सुदूरपश्चिममा ४ र कर्णालीमा १ वटा तारे होटल सञ्चालनमा छन्।
होटल सञ्चालन गर्न निर्माण कार्य पूरा भएपछि पर्यटन विभागमा दर्ता (स्तर वर्गीकरण) गर्नुपर्छ। विभागले होटलको क्षेत्रफल, भौतिक सेवा–सुविधा लगायतका आधारमा अनुगमन गरेर स्तर तोक्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटल वर्गीकरणका लागि छुट्टाछुट्टै मापदण्ड तोकेको छ। सामान्य होटलमा खाना, स्वास्थ्य सेवा, कोठा, पार्किङसहितका सुविधा हुनुपर्ने प्रावधान छ।
चारतारे वा सोभन्दा माथिल्ला होटलमा नेपाली मौलिक खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्ने, स्विमिङ पुल, अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र पर्याप्त पार्किङ अनिवार्य हुने व्यवस्था छ।


