नर्भिक इन्टरनेशनलले हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले भदौ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरिरहेको छ ।
कम्पनील आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जानकारी दिएको छ ।
आईपीओ निष्कासन गर्नुअघि कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको हो । बिएलसी सभा कक्ष , थापाथली, काठमाडौंमा अपरान्ह १२ः३० बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले बोनस शेयरसँगै कर प्रयोजनका लागि २ दशमलव १०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । आईपीओ निष्कासनका लागि सञ्चालक समितिबाट निर्णय भई नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्तीलाई समेत सभाले अनुमोदन गर्नेछ ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । बोनस शेयर वितरणपछि पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।


