Banijya News

बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा साढे दुई खर्ब नाघ्यो

1
1.2K Shares

बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा (एनपीएल) आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ५७ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५४ वटामा औसत चार दशमलव ६२ प्रतिशत दरले साढे दुई खर्ब रुपैयाँ बराबरको कर्जा निष्क्रिय भएको देखिएको हो।

गत आवमा कुल ७३ खर्ब तीन अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सो परिमाणको कर्जा असुल गर्न नसकिने श्रेणीमा परेको हो। अघिल्लो आवको तुलनामा यस वर्षको निष्क्रिय कर्जा ५८ अर्ब ६० करोड रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आवमा औसतमा ३.८६ प्रतिशत दरले एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो।

वाणिज्य बैंकतर्फ मात्र हेर्दा गत आवमा ६५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएकोमा औसतमा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय भएको छ। अघिल्लो आवमा भने वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा ३.७६ प्रतिशत मात्रै थियो।

विकास बैंकको अवस्थामा पनि निष्क्रिय कर्जा बढेको देखिन्छ। गत आवमा ६ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ५.०३ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो। अघिल्लो आवमा यो दर ३.६२ प्रतिशत थियो।

फाइनान्स कम्पनीहरुको अवस्था अझ कमजोर देखिएको छ। गत आवमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ११.०५ प्रतिशत कर्जा निष्क्रिय भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आवमा पनि फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा ९.८७ प्रतिशत थियो।

कुल मिलाएर हेर्दा अघिल्लो आवभन्दा यस आवमा बैंकिङ प्रणालीको निष्क्रिय कर्जा दर उल्लेखनीय रूपमा बढेको छ। विशेषज्ञहरुले यसलाई अर्थतन्त्रमा देखिएको सुस्त गतिसँग जोडेर व्याख्या गरेका छन्।

1

Scroll to Top