Banijya News

अब घरजग्गा दलालले १० लाख रुपैयाँसम्म तिरेर लाइसेन्स लिनुपर्ने

1
1.2K Shares

सरकारले घरजग्गा दलालहरूले लाइसेन्स लिन तिर्नुपर्ने दस्तुरको व्यवस्था गरेको छ। मालपोत नियमावलीको आठौँ संशोधनमार्फत अब घरजग्गा कारोबारमा संलग्न व्यक्तिहरूले अधिकतम १० लाख रुपैयाँसम्म दस्तुर तिर्नुपर्ने भएको हो।

सरकारले घरजग्गा दलालहरूले लाइसेन्स लिन तिर्नुपर्ने दस्तुरको व्यवस्था गरेको छ। सरकारले मालपोत नियमावलीको आठौँ संशोधन गर्दै अधिकतम १० लाख रुपैयाँसम्मको दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको हो । ०८० मा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संशोधन गर्दै मालपोत ऐनमा घर जग्गा सम्बन्धी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको थियो ।

व्यक्तिबीच आपसी समझदारीबाहेक कसैको घर जग्गा खरिद बिक्री गर्न सहयोग गर्ने वा परामर्श दिने व्यक्ति अर्थात् घरजग्गा दलालले लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको थियो । सरकारले सोही लाइसेन्सको दस्तुर तोकेको हो । संशोधित नियमावलीअनुसार एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले पाँच लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि पाँच करोडभन्दा बढीको कारोबार गर्नुपरेमा १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि सरकारले लाइसेन्स दिने निकाय भने अझै तोकेको छैन ।

ऐनअनुसार घरजग्गा कारोबार गर्ने लाइसेन्सको अवधि पाँच वर्षको हुन्छ । नवीकरणका लागि पाँच करोडसम्मको कारोबार गर्नका लागि चार लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । पाँच करोडमाथिको सीमाको लाइसेन्स नवीकरणमा ८ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। लाइसेन्सका लागि निवेदन दिने अधिकारीको रूपमा सरकारले भूमि व्यवस्था विभाग, मालपोत कार्यालय, प्रदेश वा स्थानीय तह जसलाई पनि तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

पूर्व अर्थ सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको आर्थिक सुधार कार्यान्वयन कार्य योजनामा ६ महिनाभित्र घरजग्गा व्यवसायको लाइसेन्स लिएर मात्रै कारोबार गर्न दिने व्यवस्था थियो । भूमि व्यवस्था मन्त्रालयले ६ महिनाभित्र घरजग्गा व्यवसायको लाइसेन्स लिएर मात्र घरजग्गा किनबेच गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने छ । त्यसको अनुगमन तथा सहजीकरण प्रधानमन्त्री कार्यालयले गर्ने व्यवस्था छ ।

कसैले लाइसेन्स नदिई घरजग्गा कारोबारको दलाली गरेमा कारोबारको बिगो खुलेमा बिगोअनुसार र बिगो नखुलेमा २५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्मको कैद सजाय हुने व्यवस्था छ । लाइसेन्स लिने जग्गा दलाल व्यवसायीले पनि नियम वा शर्तविपरितको कारोबार गरेमा कारोबारको बिगो वा १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

1

Scroll to Top